गृहपृष्ठ प्रभु बैंकले ६ महिनामै कमायो डेढ अर्ब
प्रभु बैंकले ६ महिनामै कमायो डेढ अर्ब
प्रभु बैंकले चालू आर्थिक वर्षको ६ महिनामै डेढ अर्ब खुद नाफा गरेको छ । बैँकले बुधबार सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण अनुसार ६ महिनामा १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि बैंकको खुद नाफा बढेको हो । यो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ९९ करोड ९८ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ । ६ महिनामा बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
कर्जा लगानी बढ्दा पनि बैंकको निष्क्रिय कर्जा भने घटेको छ । गत वर्षको पुससम्ममा ३.१२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालू आवको सोही अवधिसम्ममा घटेर २.०६ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको बेस रेट ९.४५ प्रतिशतबाट ७.२४ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.८३ बाट ३.६४ प्रतिशतमा झरेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेर २६.७७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४७.२९ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात १५.३२ गुणा छ ।
प्रकाशित समय १६:०७ बजे

















