गृहपृष्ठ थप २ स्थानमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन सुरू

थप २ स्थानमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन सुरू

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै आजबाट कृष्णपाउरोटी चोक र गैह्रीधारामा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ । महाशाखाले कृष्णपाउरोटी चोकमा प्राइम कमर्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।

नयाँ जडान गरिएको कृष्णपाउरोटी चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र प्राइम बैंकका एसिसटेन्ट जेनरल मेनेजर अनिता प्रधानले संयुक्त उद्घा टन गरे । गैह्रीधाराको ट्राफिक लाइट एसएसपी भट्टराई र बैंकका सीईओ जनक शर्मा पौडेलले गरे । ट्राफिक प्रहरी महाशाखा र बैंकका पदाधिकारीहरु उपस्थित उक्त उद्‌घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए । ‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्ने प्रयासरत छौं ।

यसका लागि सडक विभागबाहेक स्थानीय निकाय, विभिन्न बैंक वित्तीय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आइरहेका छौं ।’ आज जडान भएका लाइट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजनासमेत रहेको उनले बताए । कार्यक्रममा बोल्दै प्राइम बैंकका एजिम प्रधानले बैंकको सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई लाइटले सहयोगी भूमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने एसएसपी भट्टराई बताए ।

सनराइज बैंकका सीईओ पौडेलले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण रोल खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रविधिलाई जोड दिदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको समेत प्रशंसा गरे । महाशाखाले हालसम्म उपत्यकाको मुख्य ३० वटा चोकमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणको लागि आगामी दिनहरुमा अन्य चोकहरुमा लाइट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ । ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा लाइटको पूर्ण पालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु