गृहपृष्ठ किसानका लागि उखु जहिल्यै ‘अमिलो’
किसानका लागि उखु जहिल्यै ‘अमिलो’
उखु काट्दै कृषक । फाइल तस्बिर ।
नेपाली किसानको हकमा ‘उधारो बाली’ बन्दै आएको ‘नगदे बाली’ हो उखु । आफूले उत्पादन गरेर बेचेपछि उखुको मूल्य पाउन कृषकले हरेक वर्ष संघर्ष गर्नुपर्छ । हरेक वर्ष गुलियो उखुको तीतो कथा सबै निकायलाई उनीहरुले सुनाइरहनुपर्छ ।
कृषि प्रधान देशका बहुसंख्यक किसान अहिले यस्तै झेलका कारण पेसाप्रति नै वितृष्णा जाग्ने अवस्थामा छन् । उत्पादनको मूल्य नपाउँदा कृषकले ‘आत्मदाह’ गर्नेसम्मका पीडा पोख्ने गरेका छन् । उखुको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका नारायणभगत यादवले त ज्यान नै गुमाए । यो पीडाको उत्कर्ष अवस्थामा पनि सरकार रमिते बनिरह्यो ।
उखु किसानसँग उखु मिलले मात्र होइन, सरकारले समेत पटक-पटक झेल गर्दै आएको छ । सरकारले दिने भनेको अनुदान रकमसमेत समयमा नपाउँदा कृषक थप प्रताडित भइरहेका छन् । वर्षभरिको मेहनतबाट उत्पादित उखुको भुक्तानी नपाउँदा उनीहरु दैनिक व्यवहार डामाडोल भएको पीडा सुनाइरहेका छन् । तर, सुन्नुपर्ने निकाय सुन्नै चाहँदैन ।
ऋण लिएर व्यवसाय गरेका कृषकलाई अनुदान नै पाउन सकस हुने मुलुकमा उद्योगीबाट सहजै मूल्य पाउनु त कल्पनाबाहिरकै कुरा हो । आन्तरिक उपभोगका निम्ति अत्यावश्यक वस्तु पनि आयातमै भर पर्नुपर्ने अवस्था हटाउनका लागि सरकारले कृषकलाई उत्पादन बढाउन प्रोत्साहन गर्दै दिएको अनुदान कृषकले समयमै कहिल्यै पाएनन् । यो स्थिति किसानका लागि मात्र नभएर मुलुकको समग्र अर्थतन्त्रकै लागि पनि दुःखद हो ।
उखु किसानलाई वीरगन्ज चिनी कारखाना हुने बेलासम्म त्यति पीडा थिएन । त्यसबेला सरकार आफैँले समर्थन मूल्य तोक्थ्यो र अन्य निजी मिलले त्यसलाई ग्रहण गर्थे । जब तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा मन्त्रिपरिषद्ले २०५९ फागुन १६ को गते वीरगन्ज चिनी कारखाना खारेज गर्यो, त्यसपछि किसानका दुःख दिन सुरु भए ।
तथ्यांकअनुसार नेपालमा २ लाख ४० हजार टन चिनी आवश्यक पर्छ भने एक लाख ७५ हजार टनमात्र उत्पादन हुन्छ । ६५ हजार टन अभाव देखिएको तथ्यांकले देखाएको छ । उखुको सरकारले तोकेको मूल्य प्रतिक्विन्टल ४७१ रुपैयाँ ६५ पैसा हो । त्यसमा ६५ रुपैयाँ २८ पैसा सरकारले दिने कार्यविधि छ ।
तोकिएको मूल्य र अनुदान प्रतिक्विन्टल ५३५ रुपैयाँ पाउनुपर्ने किसानलाई मिल सञ्चालकले विभिन्न बहाना गर्दै ३५ रुपैयाँ घटाएर प्रतिक्विन्टल ५०० रुपैयाँमात्रै दिने गरेका छन् । उद्योगीहरुले आफूखुसी तोकेको मूल्यअनुसार पनि कृषकले सात वर्षदेखिको भुक्तानी पाउनका लागि लडाइँ गरिरहनुपरेको छ ।
यकिन छैन वक्यौता रकम
उखु किसान संघर्ष समितिको दोस्रो आन्दोलनपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र किसानबीच गत मंसिर १३ गते २१ दिनभित्र भुक्तानी हुने भन्ने सम्झौता भयो । सम्झौताअनुसार कृषकले पाउनुपर्ने रकम पाए/नपाएकै अन्यौल छ । मन्त्रालयले कृषकको बैंक खातामा पैसा जम्मा गराइसकेको दाबी गरिरहेको छ भने कृषकहरु पैसा नपाएको भन्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरिरहेका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय सरकारसँगको सम्झौताअनुसार एक महिनासम्म पनि वक्यौता भुक्तानी नभएको बताउँछन् । ‘सरकारले हामीलाई कुनै जानकारी नै दिएको छैन, हामीले पाउनुपर्ने ९० करोडमध्ये ६५ करोडको मात्र कबुल गराएको छ । त्योमध्ये पनि ५७ करोड भुक्तानी गरेको भनेको छ तर कृषकको खातामा पैसा आएको छैन । कबुल गरेको बाँकी ८ करोड पनि केका लागि, किन रोकिएको हो, हामीलाई कुनै जानकारी पनि छैन,’ उनी भन्छन् ।
सरकारी पक्षले भने कृषकले पाउनुपर्ने सबै भुक्तानी पाइसकेको दाबी गरिरहेको छ । उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीका अनुसार कृषकले पाउनुपर्ने रकम जिल्ला प्रशासनमार्फत कृषकको खातामा जम्मा भइसकेको छ । ‘कृषकसँग भएको सम्झौताअनुसार नै वक्र्यौता रकम भुक्तानी गराइसकेका छौं । बाँकी रहेको ८ करोड पनि केही समयमै भुक्तानी हुन्छ,’ उनले भने ।
रेग्मीका कुरामा सहमत हुँदै सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘सर्लाहीका कृषकले पाउनुपर्ने रकम भनेर १२ करोड आएको थियो । हामीले त्यो रकम कृषकको खातामा जम्मा गरिसकेका छौँ ।’ उनका अनुसार कृषकबीच एक-आपसमा समन्वय नहुँदा पनि के कति रकम हो भन्ने अन्यौल देखिएको छ ।
‘एउटा ग्रुप आएर १८ करोड बाँकी छ भन्छ, अर्को ग्रुप आएर २४ करोड बाँकी रहेको भन्छ । कृषकको बढी नै रकम पाउन बाँकी छ भने कागजपत्र लिएर आउनुपर्यो, हामी उद्योगहरू आफ्नो कब्जामा लिएर भए पनि भुक्तानी दिलाउँछौं,’ उनले भने ।
अहिले कृषकहरू भुक्तानी पाउनुपर्ने यकिन रकमको विवरण उद्योग र उद्योगीसँग माग गरिरहेका छन् । कृषकको खातामा भुक्तानी गरेको विश्वसनीय प्रमाण सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका सचिव हरिश्याम रायले बताए । उनले भने, ‘किसानले पाउनुपर्ने भुक्तानीको यकिन विवरण छैन । संघर्ष समितिले पटक-पटक उद्योग तथा उद्योगीसँग माग गर्दासमेत उपलब्ध गराउन आनाकानी गरिरहेका छन् । अनि हामीले कृषकको भुक्तानी भयो भनेर कसरी पत्याउनु ?’
मन्त्रालयले दाबी गरेको भुक्तानी रकम आफूहरुले नपाएको भन्दै किसानले गुनासो गरेको रायले बताए । ‘मन्त्रालयले भुक्तानी गरेको दाबी गरेको छ तर कृषकको खातामा पुगेको छैन, १० लाख पाउनुपर्ने किसानको खातामा ५० हजारदेखि तीन लाखसम्म मात्रै जम्मा भएको छ,’ उनले भने, ‘सरकारले पटक–पटक बेइमानी गरेपछि अर्को चरणको आन्दोलन सुरु गर्नुपरेको हो ।’
मन्त्रालयको तथ्यांक
उद्योग मन्त्रालयका अनुसार चार चिनी उद्योगले ६५ करोड बक्यौता रकममध्येमा मंगलबारसम्म ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट भुक्तानी गरेको श्रीराम सुगर मिलले पनि बक्यौता रकम भुक्तानी गरिरहेको मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालयलको तथ्यांकअनुसार इन्दिरा सुगर मिलले अहिलेसम्म ८३ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ । बाँकी चार करोड ७० लाख रुपैयाँ खातामा देखिएको र त्यो पनि पाउनुपर्ने किसानको खातामा जम्मा हुने तयारी भएको छ ।
यस्तै आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले पाँच करोड ११ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ भने तीन करोड ४० लाख मिलको खातामा बाँकी देखिएको र किसानलाई त्यो रकम पनि छिट्टै भुक्तानी गराउने प्रवक्ता रेग्मीले जनाए । अन्नपूर्ण सुगर मिलले १२ करोड ६३ लाख ७२ हजार बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।
तेस्रो चरणको आन्दोलन
किसानले भने भुक्तानी नपाएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । माघ १० गतेदेखि सुरु गरेको किसान जागरण अभियान फागुन ७ सम्म जारी राख्ने उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले बताए । उनका अनुसार आउँदो फागुन ८ गतेदेखि १४ गतेसम्म कालोपट्टि बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ सम्म एकछाक उपवास (भोकै बसी) खेतमा काम गर्ने र त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने कार्यक्रम छ ।
राकेश अग्रवाल पक्राउ
चिनी उद्योगी राकेश अग्रवाल बुधबार पक्राउ परेका छन् । पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतमा अग्रवालविरुद्ध ठगीको मुद्दा परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको स्वामित्वमा पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज चिनी उद्योग सञ्चालनमा छन् ।
प्रकाशित समय १५:४५ बजे

















