गृहपृष्ठ जो बालविवाहको विपक्षमा उभिए…
जो बालविवाहको विपक्षमा उभिए…
अब किशोर संवाद कार्यक्रम कार्यक्रम पनि चलाउनुपर्ने भएको छ : रचना सुनार
भावना सुनार १३ वर्षमा पहिलो पटक रजस्वला भएकी थिइन् । उनी रजस्वला भएपछि धेरै रोइन् । उनी रुनुको कारण अरु नभई विवाह थियो । गाउँघरमा पहिलो रजस्वला भएदेखि नै घरमा विवाहको कुरा चल्ने गथ्र्यो । आफू रजस्वला भएपछि बुवा-आमाले विवाह गरिदिने सन्त्रास भावनाको मनमा छोयो र भावनाका आँसु रोकिएनन् । नभन्दै उनको घरमा विवाहको कुरा चल्न थाल्यो । १३ वर्षमा भर्खरै पहिलो रजस्वला भएकी भावनालाई बुवा-आमाले विवाहको लागि प्रस्ताव गरे । उनले पढेर जागिर नखाएसम्म विवाह नगर्ने भन्दै बुवा–आमाको प्रस्तावलाई अस्वीकार गरिन् ।
दलित समुदायमा जन्मिएकी भावनालाई सानैदेखि पढ्नुपर्छ र जागिर खानुपर्छ भन्ने लाग्थ्यो । आफूसँगै पढेका साथीहरुले विवाह गर्दा हरेक दिन कुटाई खानुपरेको दृष्य पनि उनको बालमानसपटलमा थियो । पहिलो पटक बुवा-आमाको विवाहको प्रस्तावलाई ठाडै अस्विकार गरेकी भावनालाई दोस्रो पटकपनि विवाह गर्नुपर्ने दबाब आयो । उनले दोस्रो पटक पनि विवाह गर्न नपानेपछि आमा–बुवाको हातबाट कुटाई समेत खानुपरेको थियो । २०५३ सालमा जन्मिएकी भावनालाई २०६७ साल भदौ ४ गते विवाहको मिती समेत तोकिएछ । उनलाई अब विद्यालय जानपनि बन्द गरियो । ‘विवाहको मिती नै तोकिएपछि मलाई घरबाट कतै जान दिइएन ।, उनले भनिन् ‘त्यसपछि म घरबाट भागेर सुर्खेत आएकी हुँ ।’ उनले साउनको महिना राति २ बजे घरबाट निस्किएर चार घण्टा पैदल हिडेर स्थानीय बेस्तडा बजार आएर बस चढेर सुर्खेत आएको बताइन् ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका २ दैलेखकी भावना सुनारले आफ्नै विवाह तीन पटकसम्म रोकेकी हुन् । अहिले उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्नातक तह सेकेन्ड सेमेस्टारमा अध्ययन गर्दैछिन् । वीरेन्द्रनगर १ ढोडेखालीमा विवाहसमेत गरेकी छन् । ‘गाउँकै एक मन्टेश्वरीमा अध्ययापन गर्छु,’ ‘अहिले सोचेजस्तै जिन्दगी भएको छ ।’ उनले थपिन् ।
पार्वती वि.क चार वर्ष अगाडि कक्षा सातमा पढ्थिन् । पढेर नेपाल प्रहरी बन्ने सपना बोकेकी पार्वती भारतमा जन्मिएकी हुन् । उनका बुवा–आमा मजदुरी गर्न भारत गएको समयमा उनको जन्म पनि उतै भयो । भारतमा कक्षा सातमा पढ्दै गरेकी उनी नेपाल आएर कक्षा आठमा नाम लेखाइन् । नेपाल आएर भर्खरै पढाईलाई निरन्तरता दिएकी पार्वतीको हात माग्न केटा घरमा आउने कुरा चल्यो । नभन्दै पार्वतीको विवाह २६ वर्षीय युवासँग उनकी आमाले पक्का गरिदिइन् । पार्वतीको उमेर झन्डै १५ वर्ष पनि पुगेको थिएन । उमेरले भर्खरै १५ पुगेकी पार्वतीलाई बालविवाह र विवाहपछिको अवस्थाबारे राम्रोसँग जानकारी थियो । उनले आमासँग विवाह नगर्ने भन्दै धेरै बिन्ती गरिन् । तर पनि उनको विवाह पक्का हुने नै भएपछि पार्वती घरबाट निस्किइन् ।
रेन्द्रनगर १ सुर्खेतमा बस्दै आएकी उनले गाउँघरमा बालविवाह गरेका र त्यसपछिको दयनीय अवस्थालाई पढिसकेकी थिइन् । स्थानीय अगुवा युवतीहरुले सञ्चालन गरेको किशोरी संवादमा समेत उनी निरन्तर जान थालेकी थिइन् । त्यसैले पनि पार्वतीलाई सानै उमेरमा विवाह गर्नुभन्दा घर छाड्नु नै उत्तम लाग्यो । ‘घरबाट विवाह गरिदिने भनेपछि म भागेंँ,’ उनले भनिन्, ‘करिब एकहप्ता घर नगएपछि आमाको मन पग्लियो र म बालविवाहबाट बचेँ ।’ अहिले पार्वती वीरेन्द्रनगर १ कै ढोडेखाली माद्यामिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्छिन् । अहिले विवाह गर्नको लागि परिवारबाट कुनै किसिमको दबाब नभएको उनी बताउँछिन् ।
पार्वती र भावना जस्तै आफ्नै विवाहलाई धेरैपटक रोकेकी अर्की पात्र हुन् अञ्जना सुनार । वीरेन्द्रनगर १ घरभएकी अञ्जनाको परिवार शिक्षित हुँदाहुँदै पनि सानै उमेरमा विवाहको प्रस्ताव लिएर आउनेहरुको कमी भएन । हरेक पटक घरमा माग्न आउने र पढाइदिने लोभ देखाउनेहरुलाई अञ्जना र उनको परिवारले फर्काउँदै गए । उनको जीवनमा व्यक्तिगत रुपमा समेत फकाएर मायाजालमा पार्न खोज्नेहरु पनि नआएका होइनन् । तर अञ्जना आफैँमा पनि बालविवाह न्युनीकरणको अभियान्ता भएको कारण उनले विवाह गरिनन् । बरु बालविवाह नगर्नको लागि धेरैलाई सुझाइन् । अहिले अञ्जना अंग्रेजी विषय लिएर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातक तह सेकेन्ड सेमेस्टारमा अध्ययन गर्छिन् । बिहानको समयमा मन्टेश्वरीमा अध्यापनसमेत गराउँछिन् । भविष्यमा लेक्चर बन्ने अञ्जनाको सपना छ ।
वीरेन्द्रनगर १ ढोडेखालीमा अधिकांश दलित समुदायको बसोबास छ । समुदायमा बालविवाह, महिला हिंसाले भयानक रुप लिएपछि केही युवतीहरुको नेतृत्व र केही संस्थाहरुको सहयोगमा किशोरी संवाद केन्द्र सञ्चालन गरिएको थियो । आज त्यहि किशोरी संवादका कारण उक्त स्थानका युवतीहरु सफल भएका छन् । बालविवाहलाई रोकी उनीहरु सक्षम भएका छन् । वीरेन्द्रनगर १ मा रहेको बालविवाह र महिला हिंसालाई न्युनीकरण गर्न स्थानीय रचना सुनार लामो समयदेखि लागिरहेकी छन् । आइडिया नेपालकी संस्थापक तथा कार्यकारी निर्देशकसमेत रहेकी सुनार स्थानीय बासीन्दासमेत हुन् ।
केही वर्ष दातृ निकायको सहयोग तथा केही वर्ष आफ्नो निजी लगानीमा किशोरी संवाद सञ्चालन गरेपछि गाउँमा बालविवाह न्युनीकरण भएको उनी बताउँछिन् । ‘यहाँको बालिकाहरु त विवाह गर्नहुन्न भन्ने पक्षमा छन्,’ उनले भनिन्, ‘तर युवाहरुले भने बाहिरबाट उमेर नपुगेका बालिकाहरु विवाह गरेर ल्याउँछन् ।’ उनले किशोरी संवादसँगै किशोर संवादजस्ता कार्यक्रम गर्न सकेको खण्डमा त्यो समस्यासमेत समाधान हुने तर्क गरिन् । बालविवाह न्युनीकरणका लागि काम गर्दा थुप्रै चुनौती सामनासमेत गर्नुपरेको उनले बताइन् ।
प्रकाशित समय १०:४५ बजे

















