गृहपृष्ठ क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक पक्राउ

क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक पक्राउ

arrest_पक्राउ_news karobar

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा ९० लाख ७१ हजार ५ सय ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

अभियुक्त विकले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायतका देशमा धेरै मानिस रोजगारको लागि पठाइसकेको भनेर विश्वास दिलाइ कास्की, स्याङजा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका युवालाई ठगी गरेको पीडितले दिएको निवेदनबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

पीडितहरुलाई विश्वासमा पार्नका लागि आरोपित विकले विभिन्न सहकारी संस्था र विकास बैंकको चेकसमेत दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ हमालले जानकारी दिए । पक्राउ परेका विकलाई जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।

प्रकाशित समय १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु