गृहपृष्ठ हिंसा र असुरक्षाका कारण दुई महिनामा दुई लाख विस्थापित

हिंसा र असुरक्षाका कारण दुई महिनामा दुई लाख विस्थापित

फाइल तस्बिर ।

अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाख जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कंगोमा विस्थापित भएका छन् ।

प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजार जना क्यामरुन, चाद लगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए । ‘राजनीतिक विवाद र सशस्त्र द्वन्द्वका कारण मध्य अफ्रिकाका हजारौं मानिस विस्थापित भएका छन्,’ नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भने । राजनीतिक विवाद र हिंसात्मक द्वन्द्वका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित भएका हुन । तीमध्ये महिला र बालबालिकाको संख्या पनि धेरै रहेको उनले बताए ।

हिंसामा परेका र विस्थापित भएकाहरुलाई विभिन्न सहयोगको पनि अभाव रहेको प्रवक्ता डुजार्रिकले जानकारी दिए । त्यसैगरी उनीहरु विस्थापित भएर गएको कंगो, चाद लगायतका देशहरु पनि आफै समस्याग्रस्त रहेकाले थप जटिलता रहेको उनको भनाइ छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले पनि दशौँ हजार विस्थापित शरणार्थीहरुलाई खाने, बस्ने, लगाउने सहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ । (रासस)

प्रकाशित समय १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु