गृहपृष्ठ मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन, त्यस्तो सपना नदेख्दा हुन्छ : प्रधानमन्त्री ओली

मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन, त्यस्तो सपना नदेख्दा हुन्छ : प्रधानमन्त्री ओली

KP OLI_NewsKarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन् । सिरहा सदरमुकाममा सोमबार आयोजित सहिद हेमनारायण यादवको १७औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले भने, ‘मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ ।’

अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव नभएकाले कुनै धृष्टता नगर्न उनले सुझाव दिए । प्रधानमन्त्री ओलीले सदरमुकामस्थित हेमनरायण यादवका शालिकमा माल्यार्पणसमेत गरेका थिए । ‘संसद् विघटन संवैधानिक छ,’ अर्काे प्रसंगमा प्रधानमन्त्री ओलीले भने, ‘संसद् विघटनलाई असंवैधानिक रहेको तर्कवितर्क गरिरहका छन्, संसद् विघटन संवैधानिक नै हो, त्यसैले अब विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने, पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्वसँग मिलेर, जोडघटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुन सक्दैन ।’ नयाँ जनादेशबाट सरकार बन्नुपर्ने उनको भनाइ थियो ।

‘मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरुले संसद् विघटन असंवैधानिक भएको भनिरहेका छन् । उनीहरुले भनेजस्तो संसद् विघटन असंवैधानिक होइन, संवैधानिक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले जनतालाई अल्मलाउन खोज्ने र जनतालाई भ्रममा पार्ने षड्यन्त्रका विरुद्ध गाउँगाउँमा जान नेताकार्यकर्तालाई निर्देशन दिए । ‘नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो ध्यान समृद्धि, विकास र सुशासनमा केन्द्रित छ, त्यसैले गरीबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईहरु धैर्य गर्नुस्, तपाईहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।’

व्यावहारिक रुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजना, युवा स्वरोजगार, प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्ने जस्ता कार्य हुने जानकारी दिए । उनले प्रदेश नं २ मा निजगढ अन्तरराष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिंचाइका पूर्वाधारको विकास, कलकारखाना स्थापनालगायत विकासनिर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारीसमेत दिए । उनले अब तराई-मधेश भएर बग्ने ठुल्ठुला नदी र कोशी-कमला डाइभर्सनलगायत सिंचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेकामा जोड दिए ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले अस्थिरतामा धकेल्न खोज्ने प्रवृत्तिका नेताहरुका कारण मुलुकमा यस्तो अवस्था आएको जनाउँदै ताजा जनादेश लिने निर्णय लिएर प्रधानमन्त्रीले देशलाई अस्थिरतामा जानबाट जोगाएको बताए । (रासस)

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु