गृहपृष्ठ म्यानमारको सैन्य ‘कु’बारे छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक
म्यानमारको सैन्य ‘कु’बारे छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक
म्यानमारमा आइतबार राति भएको सैन्य ‘कु’बारे छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ । मंगलबार सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको हो । बैठकले म्यानमारबारे महत्वपूर्ण निर्णय लिने बताइएको छ ।
म्यानमारका सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची तथा राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएर सैन्य ‘कु’ गरेका थिए । लगत्तै म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा गरिएको छ । यसअघि पनि म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैन्य शासन थियो ।
सैन्य कुपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उक्त कार्यको विरोध जनाउँदै लोकतान्त्रिक सुधारमा गम्भीर धक्का लागेको बताएका थिए । म्यानमारको सैन्य कुको अमेरिका, भारत, बेलायत लगायतका मूलुकले विरोध जनाएका छन् । अमेरिकाले म्यानमारमा आर्थिक प्रतिबन्ध लगाउने र अन्य आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ ।
गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो । तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो । सेनाले आफूहरुले निष्पक्ष निर्वाचनको आयोजना गर्ने र विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
प्रकाशित समय १२:११ बजे

















