गृहपृष्ठ संवैधानिक अंगका पदाधिकारीले लिए पद तथा गोपनीयताको सपथ

संवैधानिक अंगका पदाधिकारीले लिए पद तथा गोपनीयताको सपथ

उपराष्ट्रपति र सभामुखद्वारा सपथ ग्रहण समारोह बहिष्कार

संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा बुधबार बिहान आयोजित विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ गराए ।

त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले सपथ ग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए ।

कानुनी र राजनीतिक विवादकाबीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले भने बहिष्कार गरेका छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धानको आयोगका प्रमुख आयुक्तका पूर्वसचिव प्रेमकुमार राई र आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो । त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधरलगायत विभिन्न आयोगमा सिफारिस भएकामध्ये ३२ जना पदाधिकारीले आज सपथ ग्रहण गरेका हुन् ।

सरकारले उनीहरुको संसदीय सुनुवाईका लागि पुस ५ गते संसद सचिवालयमा विवरण पठाएको थियो । सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो । संसदीय सुनुवाई हुन नसकेपछि  नियमावलीअनुसार ४५ दिन मंगलबार पुगेकाले उनीहरुको नियुक्ति भएको हो ।

प्रकाशित समय १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु