गृहपृष्ठ ट्राफिक जरिवाना अब अनलाइनबाटै तिर्न सकिने

ट्राफिक जरिवाना अब अनलाइनबाटै तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई गर्ने कारबाहीबापतको जरिवाना अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । बुधबार ई-सेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले अनलाइन भुक्तानी सहमति पत्रमा हस्तक्षर गरे ।

एसएसपी भट्टराईले विश्व अब ‘प्रविधिको दुनियाँ’ भइसकेकाले प्रविधिमा प्रवेश नगरीकन सेवा-सुविधाहरु सुलभ र छिटोछरितो बनाउन नसकिने बताए । त्यसैलाई ध्यान दिई सबै क्षेत्रलाई क्षमताअनुरुप प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । उनले महाशाखा धेरै कुरामा प्रविधिमा प्रवेश गरिसकेको पनि जनाए ।

ई-सेवाका प्रमुख सञ्चालन अधिकृत लामिछानेले यो प्रणालीले धेरैभन्दा धेरै व्यक्तिलाई लाभ पुग्ने विश्वास व्यक्त गरे । अनलाइन भुक्तानी गर्दा जरिवाना बापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने हुँदा बैंकसम्म गएर पैसा तिर्ने झन्झट हट्ने उनले बताए । महाशाखासँगको अनलाइन भुक्तानी साझेदारीमा आफ्नो संस्थाको पूर्ण साथ रहेको पनि उनले बताए ।

कारबाहीमा परेका चालकले ट्राफिकले काटेको चिट नम्बर उल्लेख गरेपछि जरिवाना रकम देखाउनेछ । सोही ठाउँमा मागेको विवरण भरी सजिलै ई-सेवाबाट रकम तिर्न सकिने महाशाखाले जनाएको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु