गृहपृष्ठ दर्जनभन्दा बढी समिति गठन गरेर के गर्दैछ महासंघ ?
दर्जनभन्दा बढी समिति गठन गरेर के गर्दैछ महासंघ ?
निजी क्षेत्रलाई सशक्त ढंगबाट चलायमान बनाउन समिति गठन : गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निजी क्षेत्रको साझा आवाज भएर सरकारलाई जागरुक बनाउन महासंघभित्र एक दर्जनभन्दा बढी समितिहरु गठन गरेको छ । कार्यसमिति सदस्यहरुलाई विभिन्न क्षेत्रको जिम्मेवारी दिएमा महासंघ अगाडि बढ्न सक्ने भन्दै समिति विस्तार गरेको महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए ।
उपाध्यक्ष श्रेष्ठका अनुसार महासंघलाई चलायमान बनाउन र निजी क्षेत्रका व्यवसायीहरुको हितमा काम गर्नका लागि समितिहरु गठन गरिएका हुन् । ‘केन्द्रीय सदस्यहरुलाई विभिन्न समितिको जिम्मेवारी दिएको छ । यसरी जिम्मेवारी दिँदा महासंघले काम गर्ने सबै क्षेत्रमा सफल हुने हामीहरुले विश्वास लिएका छौं ।’ उनले भने । श्रेष्ठका अनुसार महासंघले एक दर्जनभन्दा बढी सदस्यहरुलाई विभिन्न समितिको जिम्मेवारी दिइसकेको छ । बाँकी रहेका समिति दुई/तीन वटा समितिहरु केही दिनमा गठन हुन्छन् ।
कोभिडका कारण अर्थतन्त्रमा आएको मन्दीलाई पुनः चलायमान बनाउन महासंघ सक्रिय रुपमा लागेको हुँदा सबै सदस्यलाई जिम्मेवारी दिइएको उनले बताए । ‘कोरोनाविरुद्धको खोप आएपछि भने आर्थिक मन्दीलाई पुरानै अवस्थामा पु-याउन केही सजिलो हुन्छ कि आशा पलाएको छ । उद्योगी–व्यवसायीहरु पनि केही उत्साहित देखिएका छन् ।’ बजार सहज बनेमात्रै उद्योग–व्यवसाय पनि चल्न भन्दै अब भने केही राहत भएको उनले बताए । ‘यदि बजार नै सहज बनेन भने उद्योग चल्ने कुरै हुँदैन । त्यसैले अब बजार पनि सहज हुँदै गएको छ । त्यसैमा सबै सदस्यले जिम्मेवारी पाएपछि व्यापार–व्यवसाय सहज हुन्छ ।’ कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सिर्जना गर्नेका लागि पनि समितिहरु आवश्यक भएको उनले बताए ।
कोभिडका कारण बन्दाबन्दी बजार र कोभिडपछिको बजारमा मात्रै निकै अन्तर देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार औसतमा गत असारमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । महामारीपछि ५४ प्रतिशत उद्योग पूर्णरुपमा सञ्चालनमा आएका छन् । लकडाउनपछि निर्माण क्षेत्र ५४.८३ प्रतिशत, थोक तथा खुद्रा व्यापार ५७.२२ प्रतिशत, होटल तथा रेस्टुराँ १८.११ प्रतिशत, यातायात तथा भण्डारणतर्फ ५५ प्रतिशत व्यवसाय सञ्चालनमा आएका छन् ।
महासंघले यस्तै सिंगो निजी क्षेत्रलाई सशक्त ढंगबाट चलायमान बनाउन र महासंघको गरिमा उच्च बनाउनका लागि समितिहरु गठन गरेका हुन् । कार्यकारी सदस्यहरुलाई विभिन्न समितिको सभापतित्वको जिम्मेवारी दिँदै परिणाममुखी नतिजाको विश्वास लिएको अध्यक्ष शेखर गोल्छाले बताए । उनका अनुसार महासंघमा घरेलु तथा साना उद्योग समिति, स्टार्ट अप एण्ड इनोभेशन, निर्यात प्रवर्द्धन, पुँजी बजार फोरम, उद्योग, कर तथा राजस्व, स्वास्थ्य तथा शीप विकास, महिला उद्यमी विकास, चलचित्र तथा मनोरञ्जन फोरमलगायतका समितिहरु विस्तार गरिएका छन् ।
कसलाई दिइयो समिति र फोरमहरुको जिम्मेवारी ?
नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार अध्यक्ष शेखर गोल्छाले विभिन्न समितिमा पदाधिकारीहरु चयन गरेका छन् । चयन गरेका कार्यकारिणी समिति सदस्यहरुलाई कार्यक्षेत्र (टीओआर) सहित अध्यक्ष गोल्छाले औपचारिक पत्र दिएका छन् । महासंघले उद्योग समितिको जिम्मेवारी भरतराज आचार्यलाई दिएको छ । त्यस्तै व्यापार समितिको विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिको डीबी बस्नेत, महिला उद्यमी विकास समितिको रिता सिंह, स्थल यातायात तथा पारवहन समितिको प्रकाशसिंह कार्की, कर तथा राजस्व समितिको सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिको ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समितिको मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिको जिम्मेवारी शाहिल अग्रवालले पाएका छन् ।
त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इन्नोभेसन समितिमा रञ्जितराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवर्द्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खड्का, ऊर्जा तथा वातावरण समितिमा गोपाल खनाल र सहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको उपाध्यक्ष अञ्जन श्रेष्ठले जनाए । त्यस्तै फोरमतर्फ द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरमको जिम्मेवारी इन्जिनियर देशबन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरमको जिम्मेवारी राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरमको जिम्मेवारी आकाश अधिकारी, पुँजीबजार फोरमको जिम्मेवारी अम्बिकाप्रसाद पौडयाल र विदेशी रोजगार फोरमको जिम्मेवारी विष्णु गैरेलाई दिइएको छ ।
रोजगारदाता परिषदमा रामचन्द्र संघाई
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद गठन भएको छ । परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डेलाई चयन गरिएको हो । परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यहरू ई। विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल चुनिएका छन् । नवगठित अध्यक्ष संघाईले परिषद्ले श्रम सम्बन्धको प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी, अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताहरुको संघ संस्थासंग आवश्यक सम्बन्ध स्थापितलगायतका काम गर्ने बताए ।
पूर्वअध्यक्षहरूलाई जिम्मेवारी
नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्षहरुलाई पनि विभिन्न जिम्मेवारी दिएको छ । पूर्वअध्यक्षहरूले महासंघमा गरेको भूमिकाको मूल्यांकन गरी विभिन्न समितिको जिम्मेवारी दिएको अध्यक्ष गोल्छाले बताए । समितिहरुको जिम्मेवारी प्राप्त गर्नेहरुमा सदस्यता समिति र नेपाल–भारत संयुक्त फोरमको जिम्मेवारी निवर्तमान अध्यक्ष भवानी राणालाई दिइएको छ । त्यस्तै सल्लाहकार समितिको जिम्मेवारी महेशलाल प्रधान, व्यावसायिक आचार संहिता फोरमको जिम्मेवारी पूर्वअध्यक्ष पद्म ज्योति, कन्फेडेरेसन अफ एसिया(प्यासिफिक चेम्बर अफ कमर्स एंड ईन्डस्ट्री (सीएसीसीआई) को जिम्मेवारी पूर्वअध्यक्ष प्रदिपकुमार श्रेष्ठ, अनुशासन समितिमा पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, नेपाल-चीन गैरसरकारी सहयोग फोरमको जिम्मेवारी पूर्वअध्यक्ष बिनोदबहादुर श्रेष्ठ, विधान संशोधन समितिमा पूर्वअध्यक्ष कुशकुमार जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी पूर्वअध्यक्ष सुरज वैद्यलाई दिएको उद्योग वाणिज्य महासंघका उपनिर्देशक विदुर लामिछाले बताए ।
प्रकाशित समय १५:५९ बजे

















