गृहपृष्ठ नेकपा आमहड्ताल : १८४ नेता-कार्यकर्ता पक्राउ, २१ सवारीसाधन तोडफोड
नेकपा आमहड्ताल : १८४ नेता-कार्यकर्ता पक्राउ, २१ सवारीसाधन तोडफोड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेको आमहड्तालका क्रममा देशभरबाट प्रहरीले १ सय ८४ नेता-कार्यकर्तालाई पक्राउ गरेको छ । आमहडतालका क्रममा हिंसात्मक गतिविधि गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।
प्रवक्ता कुँवरका अनुसार प्रदर्शनकारीबाट भएकाे ताेडफाेडका कारण २१ सवारीसाधनमा क्षति पुगेको छ । क्षति पुगेका सवारीसाधनमध्ये १९ सार्वजनिक सवारीसाधन र २ सरकारी सवारीसाधन रहेका छन् । आमहड्तालका कारण लामो दूरीका सवारीसाधन पूर्ण रूपमा ठप्प भए भने ठाउँ-ठाउँमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच मुठभेडसमेत भएको प्रहरीले जनाएको छ ।
संसदीय सुनुवाइबिनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरूलाई सपथग्रहण गराएको विरोधमा नेकपाकाे प्रचण्ड-नेपाल समूहले बिहीबार आकस्मिक आमहड्ताल गर्ने निर्णय गरेकाे थियाे । प्रचण्ड-नेपाल समूहका नेता विष्णु रिजालले आमहडताल अपडेटका क्रममा शीर्ष नेताहरू अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा, विजय पौडेललगायतका नेता कलंकीबाट पक्राउ गरिएको र जनकपुरमा नेता रामचन्द्र यादवमाथि कुटपिट भएको बताएका छन् । काठमाडौंमा मात्रै ७२ जना नेता-कार्यकर्तालाई गिरफ्तार गरिएको, जनकपुरमा १२ जना घाइते भएको पनि उनले उल्लेख गरे ।

प्रकाशित समय १८:५२ बजे

















