गृहपृष्ठ विश्वकप माहोल र अराजक समर्थक
विश्वकप माहोल र अराजक समर्थक
‘अर्जेन्टिना रोज्दा बूढी रिसाउने, ब्राजिल रोज्दा साली रिसाउने...’
रुसमा जारी विश्वकपको २१औं संस्करणको ज्वरो विश्वभरका फुटबल समर्थकमाझ चढिरहँदा नेपाली फुटबलप्रेमी पनि यसबाट अलग रहन सक्ने कुरै भएन । घर, कार्यालय, सामाजिक सञ्जालदेखि चियापसलसम्म विश्वकपकै चर्चा र बहस छ । ट्रफी कसले उचाल्छ भन्नेमा समर्थकका आ-आफ्नै अनुमान र दाबी छन् । उनीहरु आफूले समर्थन गरेको टोलीको जर्सीमा सजिएका छन् । सामाजिक सञ्जालमा आफूले समर्थन गरेको टिमको जर्सी लगाएका तस्बिर पोस्ट गर्नेको होड नै छ । मनपर्ने खेलाडी र टिमका बारेमा लेखिएका स्टाटस र त्यसमाथिका पक्ष–विपक्षका कमेन्टले फेसबुक र ट्विटरका भित्ता दोहोरीस्थलझैं बनेका छन् ।
आफूले समर्थन गरेको टोलीले जितोस् भन्ने चाहना राख्नु स्वाभाविक हो । तर, कतिपय समर्थकको गतिविधि त्यतिमा सीमित छैन । मन पर्ने टोलीको विजयको कामना गर्दै कसै–कसैले अस्वाभाविक र अपाच्य गतिविधिसमेत गरेका छन् । सामाजिक सञ्जालका कतिपय स्ट्याटस र कमेन्ट तल्लो स्तरका पनि छन् । अर्थात्, सामाजिक सञ्जालको भिडन्त रोचक र घोचकमात्र छैन, सद्भावदेखि अतिवादसम्म छ, अतिरञ्जित, उच्छृंखल र द्वेषपूर्ण छ ।
र्यालीदेखि पूजापाठसम्म

अर्जेन्टिनाले पहिलो खेल खेल्नुअघि धादिङमा र्याली नै निस्कियो । धादिङ बजारमा मोटरसाइकल र्यालीपछि समर्थकले कोणसभा गरेर र अर्जेन्टिनाको म्याच सँगै हेरे । झापाका देवेन्द्र ओलीले अर्जेन्टिनाको जितको कामना गर्दै पूजापाठ नै गरे । अर्जेन्टिनाका फ्यान ओलीले मन्त्रोच्चारणसहित पूजापाठ गरेको भिडियो फेसबुकमा भाइरल बनेको छ । उनको त्यो शैलीको प्रशंसा र आलोचना दुवै भइरहेको छ ।
सञ्जालमा रमिता
आफूले समर्थन गरेको टोली र खेलाडीको प्रदर्शनबीच १८० डिग्रीको फरक देखापरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूविरुद्ध आगो ओकलेका छन् । कमजोर प्रदर्शन गर्ने आफ्नै समर्थनका खेलाडीविरुद्ध पनि उनीहरु उत्रिएका छन् । अर्जेन्टिनाका कप्तान मेस्सीले पेनाल्टीसमेत गोल गर्न नसकेपछि उनलाई ‘मिस पेनाल्टी’ भनेर महिलाको स्वरूपमा देखाइएको छ ।
विश्वकपको नेपाली गीत

रोचक पक्ष त नेपाली भाषामै वल्र्डकपको गीतसमेत निर्माण भएको छ । विश्वकप आयोजक फिफाले अंग्रेजी भाषामा तयार पारेको गीत बजिरहँदा नेपालमा छुट्टै गीत बनाइएको हो । खेलको प्रत्यक्ष प्रसारणमा नेपाली भाषामै कमेन्ट्री गर्दै प्रसारण गरिरहेको टेलिभिजन सेवाप्रदायक कम्पनी डिसहोमले तयार पारेको सो भिडियो हेर्न लायक छ । सारंगी तथा अरु नेपाली बाजामा ‘फुटबलको महाकुम्भ’ शीर्षकको गीत धेरैले रुचाएका छन् । विभिन्न टिमका टिसर्ट लगाएर छायांकन गरिएको सो गीतले विश्वकप फुटबलको राम्रै प्रचार गरेको छ ।
फ्यानले रेकर्ड गराएका दोहोरी गीत

विश्वकपलाई जोडेर गीतसमेत रेकर्ड भएका छन् । नेपालमा ब्राजिल र अर्जेन्टिनाका फ्यान बढी भएकाले ती दुई टोलीबीचको दोहोरी गीत बनाइएको छ । कलाकार राजु ढकाल र रविन लामिछानेले बनाएको म्युजिक भिडियोलाई पक्षधरहरूले भने आफ्नो टोलीको गुणगानका अंशमात्र काटेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । ब्राजिल प्रशंसकहरूले सेयर गरेका गीतको अंशमा भनिएको छ– ‘विश्वकप उचाले’सी नपर्नु है छक्कै, ब्राजिल पनि गुच्चा खेल्न गा’को हैन पक्कै…!’
अजेन्टिनाका समर्थक पनि कम छैनन् । यसपटकटको ट्रफी अर्जेन्टिनाले लैजाने दाबी गर्दै समर्थकले सेयर गरेर भाइरल भनाएको अंश यस्तो छ– ‘मेसीजस्ता खेलाडी छन्, छैनन् भारेभुरे, कान काटेर फाल्दिन्छु म, आजेन्टिना हारे…!’ यस्तै यम श्रेष्ठले गाएको कमेडी गीत पनि हेर्न/सुन्न लायक छ । गीतमा ‘अर्जेन्टिना रोज्दा बूढी रिसाउने, ब्राजिल रोज्दा साली रिसाउने…’ भन्दै मिठो व्यङ्ग्य गरिएको छ ।
सर्ट मुभीमा पनि

व्यावसायिक रुपमा सर्ट मुभी बनाउँदै आएको कलेज नेपालले विश्पकपकै सन्दर्भमा केही सामग्री ल्याएको छ । मुभीमा अराजक समर्थक तथा एकै परिवारमा फरक–फरक टिमका समर्थक हुँदा देखापरेका समस्यालाई व्यङ्ग्य गरिएको छ । सञ्चारकर्मी तथा सर्ट फिल्म निर्माता जीवेश गुरुङले बनाएको मुभी सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यापार सेयर गरेका छन् ।
प्रकाशित समय १८:२३ बजे

















