गृहपृष्ठ विद्यालयको बेथिति : चौरमा गाई, छेउमा भट्टी, शिक्षक भन्छन्, ‘अब विदेश जाने हो’

विद्यालयको बेथिति : चौरमा गाई, छेउमा भट्टी, शिक्षक भन्छन्, ‘अब विदेश जाने हो’

धनुषाको पूर्वी क्षेत्र सवैला नगरपालिका वडा नं. ३ हनुमान चौकमा दुई सय घरपरिवार बस्दै आएको दलित बस्ती छ । महरा जातिको बाहुल्यता रहेको उक्त बस्तीमा २०६० सालमा श्री सहिद शम्भु राष्ट्रिय प्राथमिक विद्यालयको स्थापना गरिएको थियो । तर, अहिविद्यालयको विजोग ले विद्यालयको भौतिक संरचनाको अवस्था, विद्यार्थीको संख्या, शिक्षकको दरबन्दी र विद्यालयको प्राङण दयनीय छ ।

स्थानीय ५० वर्षीय जिवछ महरा भन्छन्, ‘विद्यालयको दुई कोठे २ वटा भवन भएपनि शिक्षक छैनन् ।’
तत्कालिन जिल्ला शिक्षा कार्यालय धनुषाले विद्यालय चलाउन अनुमति दिएपनि शिक्षकको दरबन्दी छैन । स्कुलको अवस्था नाजुक छ । ‘यस्तो पाराले विद्यालय कसरी चल्छ ?’ महरा प्रश्न गर्छन् ।

विद्यालयको आफ्नै कुनै आम्दानीको स्रोत छैन । करिब ४ कट्ठा ऐलानी जग्गामा सवैला गाउँपालिकाले चारकिल्ला तोकेर विद्यालय चलाउन जग्गा दिएको छ । अहिलेसम्म स्थानियबासिन्दाहरुकै सहयोगले विद्यालय चल्दै आएको महराको भनाइ छ

दलित बस्तीका २ सय घरपरिवारका अढाई सयको संख्यामा विद्यार्थी विद्यालयको प्रारम्भको समयमा भर्ना भएपनि शिक्षक अभावको कारणले गर्दा गुणस्तरी शिक्षाको अभाव खड्कीएको अभिभावकहरु बताउँछन् । विद्यालयमा हाल ९० जनामात्रै विद्यार्थी छन् । विद्यालयको रेकर्डमा ९० जना विद्यार्थी भर्ना भएको देखिए पनि विद्यालयमा नियमित ३० देखि ४० जना विद्यार्थी उपस्थित हुने गरेका छन् ।
सहिद शम्भुको नाममा दलित बालबालिको शिक्षाका लागि स्थापित विद्यालयमा नेपाल सरकारको लगानी हुन नसक्दा महंगो शुल्क तिरि निजी विद्यालयमा आफना विद्यार्थी भर्ना गराउन बाध्य भएको सवैलास्थित मनोकामना युवा क्लवका कोषाध्यक्ष रामचन्द्र यादवको भनाइ छ ।
विद्यालयको खुल्ला चौरमा गाई वस्तु चर्छन् । विद्यालयकै प्राङगणमा दर्जनौ रक्सिपसल संचालनमा छन् । त्यस्ता पसल स्थानीयले पटक–पटक हटाउने प्रयास गरेपनि राजनितिक संरक्षणका कारण सफल हुन नसकेको स्थानीय युवा रामचन्द्र यादव बताउँछन् ।
‘विद्यालय र पठन पाठन नै अस्तव्यस्त हुने गरी भइरहेको गतिविधि रोक्न सम्बन्धित निकाय पनि उदाशिन छन् ।’ यादवले भने ।

विद्यालयको चौरमा स्थानीयले गाई, भैँसी बाँध्ने थलोको रुपमा परिणत गरेका छन् भने विद्यालयको प्रांगणमा ती रक्सी पसलबाट निस्कने फोहोरमैलाले डम्पिङ साइटजस्तो बनाएको छ । स्थापना कालदेखि नै निजी स्रोतबाट अध्यापन गराउँदै आएका शिक्षक शिवकुमार महराले बेथितिले सीमा नाघेको बताए । शिक्षक महराले आफू १ हजार ५ सयबाट पढाउन सुरु गरेको र हाल महिनाको ३ हजार रुपैयाँ पाउने भनिएपनि बर्षौपछि गाविस (हाल नगरपालिका)बाट पाउनुपर्ने सुविधा नपाएको गुनासो गरे । अब विदेश जाने सोचमा रहेको उनले सुनाए ।

विद्यालयका प्र.अ.चन्दर यादवलेनै विद्यालयबाट तलब नपाएको वर्षौ भएको छ । राहत कोटामा दरबन्दी भई नियुक्ति पाएका उनी फर्जी (नक्कली) राहतकोटामा परेका छन । बालविकास कोटामा एक जना कार्यरत रहेका छ । तर, कक्षा ५ सम्म विद्यालय संचालनमा रहेकाले प्र.अ.ले प्रशासन समेत हेर्नुपर्ने, विद्यालयकै कामले शिक्षा अफिसदेखि बाहिर बराबर जानुपर्ने भएकाले विद्यालयमा १ जना शिक्षकले कक्षा १ देखि कक्षा ५ सम्म पढाउनु पर्ने बाध्यता रहेको छ । विद्यालयमा शिक्षक अभावको साथै फर्निचर अभावले गर्दा पढ्न आउने विद्यार्थीसमेत खुल्ला भुईमै बसेर पढनु पर्ने बाध्यता छ ।
स्थानीय दलित बस्तीका अधिकांश घरपरिवारको आर्थिक अवस्था निकै नाजुक छ । ‘हामी महंगो स्कूल पढाउन सक्दैनौँ,’ स्थानीय सुनैना दास भन्छिन्, ‘सरकारीमा पढायो भने हालत यस्तो छ, सरकारले विद्यालय भर्ना गर्ने भन्छ, खोइ विद्यालयको अवस्था सुधारिदिएको ?’

यता, सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहलाई यस विद्यालयको अवस्थाबारेमा प्रश्न गर्दा उनले निरीह जवाफ दिए । ‘अहिले यस नगरपालिकाभित्रका धेरै विद्यालय यस्तै हालतमा छन्,’ उनले भने, ‘हामीले चाहेर पनि शिक्षकहरुलाई केही गर्न सकेका छैनौं, कुनै विद्यालयमा शिक्षक बढी भएका छन्, कुनैमा शिक्षक अभाव छन, विस्तारै मिलाउँछौँ ।’

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु