गृहपृष्ठ डाँका मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ
डाँका मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ
सांकेतिक तस्बिर
डाँका मुद्दाका फरार एक व्यक्तिलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यास–१४ निवासी ४४ वर्षीय मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई पक्राउ गरी बुधबार तनहुँ जिल्ला अदालतमा पेस गरेको हो ।
०६९ साल जेठ २९ गते राति जिल्लाको साविक राइपुर गाविस वडा नं. ४ बस्ने ५९ वर्षीय रुकप्रसाद लम्सालको घरमा हतियार देखाएर दुई तोला सुनको सिक्रीसमेतका गरगहना लुटी सापकोटा वारदातपश्चात फरार रहेका थिए । फरार रहेका प्रतिवादी सापकोटालाई गत मंगलबार व्यास–३ मा पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको तनहुँका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
९५ थान अबैध लागुऔषधसहित चारजना पक्राउ
यसैगरी, प्रहरीले ९५ थान अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भानु नगरपालिका वडा नं. १ निवासी १८ वर्षीय आशिष भुजेल, बन्दिपुर गाउँपालिका वडा नं. ४ निवासी १८ वर्षीय अक्रम मिया, सोही स्थानका २५ वर्षीय सागर खड्का र सोही स्थानका ३० वर्षीय समिर बानियाँ रहेका छन् ।
जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. १ बेसीशहर चोकस्थित शंकास्पद रुपमा भेटिएका आशिष भुजेल र अक्रम मियालाई नियन्त्रणमा लिँदा उनीहरुको साथमा डाइजेपाम लेखेको २ एमएलको शिशी ३२ थान, नोफिन २ एमएलको ३३ थान र फेनेरागन २ एमएल को ३० थान गरी ९५ थान फेला परेको थियो ।
उक्त लागुऔषध खरिद गर्न आएका समिर बानिया र सागर खड्कालाई समेत सोही स्थानमा फेला पारी लागुऔषधसहित मोबाइल सेटहरु बरामद गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप आवश्यकीय अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
(रासस)
प्रकाशित समय २०:१३ बजे

















