गृहपृष्ठ बालुवाटारमा मिलेको कुरा सिंहदरबारमा यसरी भाँडियो

बालुवाटारमा मिलेको कुरा सिंहदरबारमा यसरी भाँडियो

डा. केसीको स्वास्थ्य चिन्ताजनक बन्दै

education-ministry

सरकारी पक्ष र अनसनरत डा. गोविन्द केसी पक्षबीचको बुधबार भएको वार्ता असफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मिलिसकेको भनिएको वार्ता सिंहदरबारमा भाँडिएको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग गरेको अनौपचारिक छलफलका क्रममा बिहान मिलेका विषय शिक्षा मन्त्रालयमा भएको वार्तामा भने मिल्न सकेनन् । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा आफूहरुले राखेको संशोधन प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको डा. केसी पक्षले जनाएको छ ।

त्यसअघि, सरकारका तर्फबाट सहभागी नेकपाका उपनेता नेम्वाङले बालुवाटारको छलफलमा माथेमा र बास्कोटासँग केसीका माग पूरा गर्ने सन्दर्भमा सकारात्मक जवाफ दिएका थिए । सरकार र केसी पक्षबीचको संवादहीनता तोड्दै नेता नेम्वाङले वार्ताको पहल लिएका थिए ।

मंगलबार डा. केसी पक्षीय वार्ता टोलीले नेम्वाङलाई भेटेर विधेयकमा संशोधन गर्नुपर्ने विषय लिखित रुपमा बुझाएको थियो । तर, शिक्षा मन्त्रालयमा बुधबार दुईपटक भएको वार्तामा आफूहरुको संशोधनको खाकामा सरकारी पक्षले जवाफ दिन नसकेकाले वार्ता असफल भएको केसी पक्षले जनाएको छ । सरकारी पक्षले भने हुबहु आफ्ना माग पूरा गर्नुपर्ने अडानका कारण वार्तामा सहमति जुट्न नसकेको बताएको छ ।

सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसीको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता आएपछि मात्रै वार्तामा बस्ने बताएको छ । वार्ताका क्रममा हदैसम्म लचकता अपनाएको, विधेयक फिर्ताको माग थाती राखेको र विधेयकका प्रावधानमा सुधार गर्नमात्र आफूहरुले माग गरे पनि सरकारी पक्षले नमानेको केसी पक्षको आरोप छ ।

अनसनको २६औं दिनमा डा. केसीको स्वास्थ्य अवस्था नाजुक भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेकाले वार्ता असफल भएको केसी पक्षका वार्ता टोली संयोजक डा. अभिषेक सिंहले बताए । ‘विधेयकसम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेकाले यही अलमलका कारण डा. केसीको स्वास्थ्यमा अपुरणीय क्षति पुग्ने अवस्था आइसकेको छ,’ डा. सिंहले भने, ‘यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौं ।’

यसअघि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले न्युज काराेबारसँगको कुराकानीमा सरकार र डा. केसीपक्षबीच बालुवाटारमा अनाैपचारिक सहमति जुटेको र वार्ता निष्कर्षमा पुगेको बताएका थिए । उनले बिहानको वार्तामा अनाैपचारिक सहमति जुटेकाले बुधबार नै शिक्षा मन्त्रालयमा हुने अाैपचारिक छलफलपछि सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गर्ने जानकारी गराएका थिए ।

 

यो पनि पढ्नुहोस्

सरकार र डा. केसी पक्षबीच वार्ता मिल्यो

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु