गृहपृष्ठ हाम्रो नेपाल, हामी नेपाली, हामी जनताका सेवक– प्रधानमन्त्री
हाम्रो नेपाल, हामी नेपाली, हामी जनताका सेवक– प्रधानमन्त्री
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाम्रो नेपाल : हामी नेपाली, हामी जनताका सेवक’को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ६ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको विभिन्न प्रतिबद्धतामा नयाँ प्रतिबद्धता लेखेर थप्दै त्यसलाई आफूले पालना गर्ने र अरुले पनि गर्नुपर्ने बताएका हुन् ।
उनले सधैँ सफा र स्वच्छ व्यक्तिका रुपमा रहन पनि नयाँ अधिकृतलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले कर्मचारीले जहाँ पुगे पनि उज्यालो ज्योतिका रुपमा रही नवप्रवर्तनकारी काम गरेर मुलुकको सार्वभौमिकता, भूराजनीति, जात, धर्म, संस्कृति र चाडहरुको महत्व बुझेर मुलुकलाई सम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा फलाम, तामा, युरोनियम र पेट्रोलियम पदार्थको खानी छ तर हामी किन गरीब भएका छौं, त्यसको खोजी गर्नुपर्छ । भावी सन्नतिलाई गरिबी र पछौटेपनबाट हटाउने युग परिवर्तनको संवाहकका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभिभारा हाम्रो काँधमा छ ।’
प्रतिष्ठानका पाठ्यक्रमलाई अझ परिमार्जन गर्नेबारेमा आफूले आगामी दिनमा छलफल गर्ने भन्दै उनले सफलताको रहस्य इमानदारिता भएकाले सक्रिय इमानका साथ काम गर्न निर्देशन दिए । ‘निष्क्रिय इमानदारिताले जनताकोे सेवाका लागि कुनै लाभ हुँदैन । जनसेवा नगरे इमान अधुरो हुन्छ र प्रयोग नहुने ज्ञान निकम्मा हुन्छ,’ उनले भने ।
(रासस)
प्रकाशित समय १४:०९ बजे

















