गृहपृष्ठ आज गुरु पूर्णिमा
आज गुरु पूर्णिमा
आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मनाइने प्रचलन छ । यस पूर्णिमामा गुरुहरुको श्रद्धा र पूजा गर्ने प्रचलन छ । पछिल्लो समय गुरु पूर्णिमा प्रायः सबैले महत्वका साथ मनाउने गरेको भए पनि गुरुकुलहरुमा यसलाई खास रुपमा मनाइन्छ । गुरु पूर्णिमा वर्षा ऋतुको प्रारम्भमा आउँछ । वर्षातको समय, न धेरै गर्मी न धेरै जाडो हुने हुनाले यस समयलाई अध्ययनका लागि पनि उपयुक्त समय मानिन्छ ।
गुरु पूर्णिमा महाभारत एवं वेद जस्ता ग्रन्थका रचनाकार व्यासको जन्मदिन पनि हो । संस्कृतका प्रकाण्ड विद्वान व्यासद्वारा रचित ग्रन्थहरुले आज पनि ठूलो र विशेष महत्व पाउँदै आएका छन् । व्यासलाई आदिगुरुका रुपमा पनि सम्मान गरिन्छ र उनको सम्मानमा गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भनिन्छ ।
अर्थ
हामीले बुझ्दै आएको गुरुलाई शिक्षकको अर्थमा बुझ्ने प्रयास गर्दै आएका छौं । तर, शास्त्रमा गुरुको अर्थ यसभन्दा व्यापक छ । शास्त्रका अनुसार ‘गु’को अर्थ अन्धकार अर्थत् अज्ञान हो र ‘रु’को अर्थ त्यसको निरोधक । यसरी हेर्दा गुरु शब्दले अज्ञानरुपी अन्धकारलाई हटाएर ज्योतिरुपी ज्ञान दिलाउनेलाई समेट्छ । अर्थात् गुरुले जीवनलाई जाज्वल्यमान्, प्रकाशमान तथा चम्किलो बनाउन मद्दत गर्दछ ।
महत्व
भनिन्छ जीवन सिकाईहरुको संगम हो । हरेक मानिसले जन्मदेखि मृत्युसम्म केही न केही सिकिरहेको हुन्छ । यस्तो सिकाईमा पथप्रदर्शक पनि भएमा त्यो अझ बढी प्रभावकारी हुन्छ । सिकाइका विभिन्न रुप र बान्कीहरुमा पदप्रदर्शक बनेर आउने सबै सबै हाम्रा गुरुहरु ह्न् ।
तर, गुरुको अर्थलाई सीमित गर्ने हो भने यो औपचारिक ज्ञानमा सीमित हुन्छ । तर, गुरु शब्दलाई त्यतिमा मात्र बुझ्नु उपयुक्त हुँदैन । यसलाई जति सीमित गरियो यसको महत्व पनि उतिनै सीमित हुन्छ । गुरु शब्दले जुन अर्थ बोक्छ त्यसको महत्व बहिंगम र व्यापक छ ।
शास्त्रीय मत
हाम्रा शास्त्रहरुमा गुरुको ठूलो महत्व दर्शाइएको छ । जस अनुसार गुरु तथा इश्वरमा समानता छ, र इश्वरको जस्तै गुरुको पनि पूजा गर्नु आवश्यक छ । सद्गुरुको कृपाले इश्वरसँगको साक्षत्कार पनि सम्भव छ । गुरुको कृपा प्राप्त भएका असम्भव केही पनि छैन ।
प्रकाशित समय १२:०५ बजे

















