गृहपृष्ठ हिमतालमा विद्यार्थी बेपत्ता प्रकरण : शव निकाल्न सेना परिचालन

हिमतालमा विद्यार्थी बेपत्ता प्रकरण : शव निकाल्न सेना परिचालन

gokyolake-newskarobar

 

गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकुल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आइतबार बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ ।

‘हिमतालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन राईले भने, ‘कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो ।’

‘खुम्जुङ प्रहरी चौकीबाट करीब दुई दिन पैदल हिँडेर पुगिने सो स्थानमा शनिबार हेलिकप्टरमार्फत स्थानीयसहितको प्रहरी टोली त गयो तर थप टोली पठाउन हेलिकप्टर भए पनि प्रतिकुल मौसमका कारण अवतरण हुन सकेन,’ उनले भने, ‘आज थप टोली गएको छ, उद्धार गर्न सकिन्छ कि भन्ने आशा छ ।’

नेपाली सेनाको टोली परिचालन

हिमतालमा डुबेका विद्यार्थीहरुको उद्धारका लागि आइतबार बिहान सेनाको टोली पनि गोक्यो प्रस्थान गरेको प्रहरी निरीक्षक राईले जनाकारी दिए । प्रहरीले उद्धार गर्न नसकेपछि शम्शेर गुल्म नाम्चेबाट नेपाली सेनाको टोली गोक्योतर्फ प्रस्थान गरेको हो ।

गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका थिए । खुम्बु क्षेत्रमा शेर्पा समुदायको फाङ्गी पर्वका अवसरमा विद्यालय बन्द भएका बेला विद्यालयको अनुमतिबिना नै ती विद्यार्थी शैक्षिक भ्रमणमा गएका थिए ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले विद्यालय परिवारलाई उद्धृत गर्दै भने, ‘विद्यार्थीले भ्रमणका लागि औपचारिक अनुरोध गर्दा विद्यालयले अस्वीकार गरेको तर पछि विद्यार्थी आफैँ भ्रमणमा गएछन् ।’

(रासस)

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु