गृहपृष्ठ सरकारकै कारण संघीयता धरापमा

सरकारकै कारण संघीयता धरापमा

करको सवालमा जनता नै स्वार्थी देखिए

Menuka Kafle Newskarobar (6)

 

मेनुका काफ्ले मुलुकभरका ४६० गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघकी उपाध्यक्ष हुन् भने झापाको कमल गाउँपालिकाकी अध्यक्ष हुन् । स्थानीय तहमध्ये उनी प्रदेश १ मै पहिलो महिला प्रमुख हुन् । महासंघमा आफ्ना कुरा प्रष्ट राख्ने मामिलामा उनी अब्बल मानिन्छिन् । आफू नेतृत्वको गाउँपालिकालार्इं नमुना गाउँपालिकाका रुपमा स्थापित गर्न उनी कम्मर कसेर लागेकी छन् । त्यसो त, उनीजस्तै धेरै स्थानीय तहका प्रमुखहरुले विकासका महत्वकांक्षी योजना अघि सारेका छन् । तर, ती योजना पूरा गर्न उनीहरुले कर असुलीमा बढी जोड दिएको भन्ने जनगुनासो पनि बढेको छ । स्थानीय तहले बढी कर असुल्दा संघीयता नै धरापमा पर्ने संकेत देखिएको टिप्पणीसमेत भइरहेको छ । यसै सन्दर्भमा करले जनतामा बढाएको निराशा, संघीयतामाथिको प्रश्न र त्यसको समाधानका उपायलगायतका विषयमा महासंघकी उपाध्यक्ष काफ्लेसँग सञ्जय श्रेष्ठले गरेको कुराकानी :

 

स्थानीय सरकार आएपछि स्थानीय विकास र नागरिकको जीवनयापन सहज हुने अपेक्षा गरिएको थियो, तर, जथाभावी कर असुलेर स्थानीय तहले जनतालाई झन् सास्ती दिएको टिप्पणी हुन थालेको छ नि !
स्थानीय तहले जथाभावी कर लिएको भन्ने आरोपमात्रै हो, सत्य होइन । सर्वसाधारणले सिंहदरबारको सेवासुविधा आफ्नै गाउँघरमा पाउने हो भने केही हदसम्म कर पनि बढी तिर्नुपर्छ, राज्यको खर्च आमनागरिकले नै उठाउने हो । आखिर विकासको फल पनि सर्वसाधारणले नै पाउने हो । हामीले व्यक्तिगत सुविधाका लागि जनताबाट कर उठाएको होइन । जथाभावी खर्च गरेको पनि छैन । जनतालाई दिने सुविधा चुस्त र प्रभावकारी होस् भन्ने हेतुले करको दायरा बढाइएको हो ।

 

कतिपय स्थानीय तहले जन्मदा पनि कर र मर्दा पनि कर लगाएका छन्, उत्पादनमा समेत कर लगाइएको छ । के जनतामा त्यसले आक्रोश जन्माउनु स्वाभाविक होइन र ?
कुनै पनि स्थानीय तहको विकासको मुख्य अवयव सोहि ठाउँका जनता हुन् । हामी नीतिगत र कार्यान्वयन तहमा सहजीकरण गर्छौँ । यसको अर्थ, सर्वस्व जनता हुन् । सबै स्थानीय तहको भूगोल एउटै नहुन सक्छ, आर्थिक क्षमता एउटै नहुन सक्छ । सोहि कारण कतिपय अवस्थामा केही नीतिगत भिन्नता देखिनु अस्वभाविक होइन । तर, कुनै पनि नीति जनताका पक्षमा हुनुपर्छ । कहिँ कतै जनताले सास्ती झेल्ने गरी जथाभावी नै कर असुल भएको रहेछ भने त्यसलाई रोक्नुपर्छ । त्यसले सबै स्थानीय तहको बदनाम हुन हुँदैन । धेरै स्थानीय तहले जनमुखी र अनुकरणीय काम पनि गरेका छन् ।

हिजो २० बर्ष अगाडिको बजार मूल्य र आजको बजार मूल्यको अवस्था हेरौँ । पहिला एक लाख रुपैयाँ पर्ने एक कट्ठा जग्गाको भाउ अहिले दश लाख वा त्योभन्दा बढी छ । एक लाख रुपैयाँमा एक सय रुपैयाँ कर तिर्नेले आज १० लाख रुपैयाँमा एक हजार तिर्नुपर्दा समस्या किन ? फेरि त्यो कर त आफ्नै ठाउँको लागि प्रयोग हुने न हो ! मेरै क्षेत्रको कुरा गरौँ, झापाको कमल गाउँपालिकामा २२ सय विघा जग्गामा औद्योगिक क्षेत्र बन्दै छ । अब तपाईहरुले सम्पत्ती कर तिर्नुपर्छ भनेर हामीले भन्यौं । आमभेला गरेर छलफल गर्यौँ । त्यहाँ स्थानीयबासीले प्रतिबिघा ५० हजार भन्नुभयो । तर, त्यहीँ औद्योगिक क्षेत्र बन्दै छ, उद्योगको लागि जग्गा माग्दा प्रतिकट्ठा १० लाख रुपैयाँ मुआब्जा लिने भन्नुहुन्छ । लिने बेलामा कसेर लिन खोज्ने तर राज्यलाई दिनुपर्ने बेलामा चाहिँ मुठी पार्न खोज्नु जायज हो त ?

Menuka Kafle Newskarobar (5)

 

चर्को कर असुल्नुअघि जनताको जीवनस्तर के छ भनेर सोच्न जरुरी छ कि छैन ?
हामीले चाहिँ चर्को शुल्का असुल गरेका छैनौँ । चर्को शुल्क भन्ने हल्ला फैल्याइएको हो । तथापि, एउटा कुरा के सत्य हो भने, जनताको जीवनस्तर हेरेर कर निर्धारण गर्ने विषय । यसबारे जनताको रायसुझाब लिएर अघि बढ्दा राम्रो हुन्छ । मलाई लाग्छ, अहिले उठाइएको करको सदुपयोग हुन सक्यो भने जनताले उत्साहका साथ कर तिर्न थाल्नेछन् । तर, करको प्रयोग हुनुअघि नै विरोध गरेपछि त त्यो सदुपयोग हुन्छ कि दुरुपयोग हुन्छ भन्ने कुरा कसरी थाहा पाउने ?

 

कर सदुपयोग हुन्छ भनेर विश्वास गर्ने आधार पनि त तपाईंहरुले दिनुपर्यो नि ! तपार्इंहरुले जमघट र चियापनमै धेरै पैसा उडाइसक्नुभयो भन्ने आरोप त लागिरहेकै छ ?
हामीले जनताबाट संकलन गरिएको एक पैसा पनि दुरुपयोग गरेका छैनौँ । कुनै स्थानीय तहमा भएको भए, उनीहरुले जनताबाट दण्डित हुनुपर्छ । म गाउँपालिका राष्ट्रिय महासंघको उपाध्यक्षको हैसियतमा भन्छु, हामी रमाइलोका लागि जमघट गर्दैनौँ । हाम्रा स्थानीय तहमा भएका साझा समस्या र ती समस्याको निराकरणका लागि छलफल गर्छौँ । एकीकृत धारणा बनाउछौँ र संघीय सरकारको ध्यानाकर्षण गराउँछौँ । हालैमात्र हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर देशभरका गाउँपालिकामा देखिएका समस्याबारे जानकारी गराएका छौँ । उहाँले समस्या समाधानमा पहल गर्ने आश्वासन पनि दिनुभएको छ । के यो सब जनताकै लागि होइन र ?

 

तपाईंहरुले त आफ्ना समस्या प्रदेश सरकारसमक्ष राख्नुपर्ने हो, तर सिधै प्रधानमन्त्री भए ठाउँ आउनुभयो किन ?
हामीलाई संघीय सरकारसँग सिधा सम्पर्क गर्ने अधिकार संविधानले नै दिएको छ । जनताको समस्या हल गर्न केन्द्र सरकारको पनि दायित्व उत्तिकै हुन्छ । प्रदेशसँग त हामी नियमित सम्पर्कमा हुन्छौँ । त्यहाँबाट समाधान हुन नसकेका कतिपय मुद्दा लिएर हामी केन्द्रसम्म आइपुगका हौँ । फेरि, हाम्रा स्थानीय तहमा देखिएका समस्याबारे हामीले नै ‘ब्रिफ’ गर्यौँ भने अझ प्रभावकारी हुन्छ भन्ने विश्वास हाम्रो हो ।

 

गाउँपालिकाहरुमा देखिएका साझा समस्या के–के हुन् ?
धैरै गाउँपालिकामा कर्मचारीको अभाव छ । हामीले अघि सारेका योजना कार्यान्वयन गर्न कर्मचारी नभएकैले समस्या भइरहेको छ । प्राविधिक कर्मचारी नुहँदा गाउँपालिका झन् पछाडि धकेलिँदैछन् । प्रदेशले समयमै कानुन बनाइदिएन । हामीलाई जिम्मेवारी दिइयो, कुर्सी दिईयो तर सरकारले तालिम दिएन । नयाँ संयन्त्र सम्हाल्न तालिम नहुँदा हामीलाई निकै समस्या भइरहेको छ । अधिकांश गाउँपालिकामा इन्जीनियर छैनन् । १ सय १० वटा गाउँपालिका अझै बैंकविहीन छन् ।

 

तपाईंहरुसँग यत्रा समस्या रहेछन्, के लाग्छ, संघीय सरकारले किन यी समस्या समाधानमा पहल गरिरहेको छैन ?
अहिले संघीयता धरापमा परेको भनेर फाट्टफुट्ट टिप्पणी हुन थालेको छ । वास्तवमै संघीयतामाथि केही प्रश्न जन्मिएको छ । यो प्रश्न जन्माउने काम सरकारले नै गरेको छ । हामीले त सरकार नै संघीयता असफल बनाउन लागेको महशुस गरेका छौँ । होइन भने, हामीलाई खै कर्मचारी दिएको ? सरकारले कर्मचारी नदिँदा वडा कार्यालय संचालन गर्न सकिएको छैन । हामीसँग आन्तरिक स्रोत छैन । तर, सरकारले आन्तरिक स्रोतबाट राख्नू भन्छ । यो त जानाजान संघीयताविरोधी जवाफ हो ।

 

कतिपय गाउँपालिकाले अहिलेसम्म गुरुयोजना तयार गर्न सकेका छैनन्, किन यस्तो भइरहेको छ ?
मलाई लाग्छ, अधिकांश गाउँपालिकाले गुरुयोजना बनाएर कार्यान्वयनमा गैसकेका छन् । मेरै गाउँपालिकामा पनि म ७ बर्षे गाउँ प्रोफाइल बनाएर अगाडि बढेको छु । कर्मचारी अभावकै कारण गाउँपालिकाहरु अप्ठ्यारोमा छन् । यसको असर योजना कार्यान्वयनमा देखिनु स्वभाविक हो ।

 

जनप्रतिनिधिले नै पनि आफ्नो कर्तव्य र दायित्व बहन गर्न नसकेको टिप्पणी हुने गरेको छ, तपाईंहरुले केन्द्र सरकारको सहयोग बिना केही नै गर्न नसक्ने हो त ?
कतिपय क्षेत्राधिकारभित्र रहेर कर निर्धारण गरेका छन् । केन्द्र सरकारसँग कति गुहार माग्नु भनेर जनप्रतिनिधिले आन्तरिक स्रोत जुटाएर विकासका लागि यो कदम चालेका हुन् । तर, यसलाई अतिरञ्जित गरेर विरोध भइरहेको छ ।

कानुनी उल्झन जनप्रतिनिधिका लागि अर्को समस्या हो । स्थानीय तहले आफैँ सबै कानुन बनाउने अधिकार पाए । तर, त्यो प्रदेश सरकारको कानुनमा बाँझिनु हुँदैन भनिएको छ । उता, प्रदेश सरकारले कानुन बनाउन ढिला गरे । संघीयताको पहिलो अभ्यास भएका कारण पनि ढिलो भएको हो । सबै स्थानीय तहका जनप्रतिनीधिले नजानेका कारण पनि हो । जहाँसम्म दायित्व बहन गर्न नसककेको भन्ने प्रश्न छ, कतिपय स्थानीय तहका जनप्रतिनिधि तालिमविहीन हुनुहन्छ, सरकार सञ्चालका लागि समस्या परेको हुन सक्छ भन्ने कुरा सत्य हो ।

Menuka Kafle Newskarobar (7)

 

धेरै ठाउँमा जनप्रतिनिधिहरुले आफ्ना पार्टी निकट कार्यकर्तालाई उपभोक्ता समितिमा राख्दै ५० प्रतिशत काम गराएरै स्थानीय तहको पैसा लुटाइरहेको आरोप पनि लाग्ने गरेको छ । यस्तो चलाखी गर्न सक्ने जनप्रतिनिधिलाई सरकार चलाउन समस्या पर्छ र ?
कहिँ कतै कमीकमजोरी भएको हुनसक्छ । तर यसलाई सामान्यीकरण गर्न हुँदैन । यसो गरियो भने राम्रो काम गरिरहेका जनप्रतिनिधि हतोत्साही हुन्छन् । स्थानीय तहमा योजना छनौट गराउँदा बस्ती भेलाबाटै गराउनुपर्ने नियम हुन्छ । वडा अध्यक्षले यो नियम पालना गर्नु र गराउनुपर्छ । होइन भने कदम असंवैधानिक हुन्छ । उपभोक्ता समिति बनाउँदा पनि बस्ती भेला वडाको जनप्रतिनिधीको रोहवरमा गर्नुपर्छ । तपाईले भनेजस्तो भएको छ भने म महासंघमा कुरा राख्छु ।

 

तपाईंलाई थाहा हुनुपर्छ, धरै वडाअध्यक्ष र गाउँपालिका अध्यक्ष आफैँ डोजर र टिपर किनेर ठेक्का लिँदै हिँडेका छन्, के यसरी पारदर्शीता कायम हुन्छ ?
यस्तो त रोक्नुपर्छ । कुनै गाउँपालिकामा यस्तो भएको प्रमाणसहित आएर कसैले जानकारी गराएमा हामी आफैँ अग्रसर भएर त्यसलाई रोक्न पहल गर्छौँ ।

 

पछिल्लो समय भ्रष्टाचार, यौनकाण्डलगायतका कारण कतिपय जनप्रतिनिधि निकै विवादित बनेका छन् नि !
सबै मान्छे एउटै हुन्छन् भन्ने छैन । सबैको स्वाभाव तथा व्यवहार फरक–फरक हुन सक्छन् । तर, जनताबाट निर्वाचित भइसकेपछि भने आफ्नो मर्यादाको पालना गर्नुपर्छ । संविधान र विधानभित्र रहेको आचारसंहितालाई पालना गर्नुपर्छ । निर्देशिकालाई पालना गर्नु जनप्रतिनिधिको कर्तव्य र दायित्व हो । स्थानीय तहमा २२ वटा कानुन छन् । सोहिअनुसार काम गर्नुपर्छ । कानुन अनुसार जनप्रतिनिधि चलेको नपाइएमा जनताले खबरदारी गर्नुपर्छ । हामीले सबै स्थानीय तहमा ऐन कानुन बनाएर काम गर्नुस, गाउँसभाबाट पास गरेर मात्र काम अघि बढाउनुस्, होइन भने तपाईंहरुलाई समस्या हुन्छ भनेर पटक–पटक सचेत गराउँदै आएका छौँ । एकाध ठाँउमा यस्ता किसिमका लज्जास्पद घटना भएका छन् । जनतालाई ठग्न, भ्रष्टचार गर्न कसैलाई पनि छुट छैन ।

 

तपाईंहरुले हालैमात्र काठमाडौँमा गाउँपालिका राष्ट्रिय महासंघको भेला गर्नुभएको छ, के–के निर्णय भए ?
हामीले चार वर्षे रणनीति बनाउने निर्णय गरेका छौँ । कतिपय गाउँपालिकामा विभिन्न किसिमका समस्या देखिएका छन् । ती समस्यामा जनप्रतिनिधिहरुकै कमजोरी पनि पाइएको छ । ती गाउँपालिकाकाका जनप्रतिनिधिलाई सचेत गराउने तथा गाउँपालिका महासंघको संगठन विस्तार गर्ने निर्णय भएको छ । यस्तै अधिकांश गाउँपालिकामा अझै पनि बैंकहरु पुगेका छैनन् । सरकारलाई यसबारे ध्यानाकर्षण गराउने निर्णय पनि महासंघले गरेको छ । प्रधानमन्त्रीलाई भेटेरै गाउँपालिकामा साझा समस्याबारे हामी बुधबार नै जानकारी गराइसकेका छौँ ।

 

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु