गृहपृष्ठ नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने
नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने
फाइल तस्बिर
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उपलब्धिमूलक भएको बताएका छन् ।
दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी भई बास्कोटा स्वदेश फर्किका । दक्षिण कोरियाको सोलमा सम्पन्न उक्त बैठकमा एसिया प्रशान्त क्षेत्रका १२ देशका सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सहभागिता थियो ।
स्वदेश फर्कने क्रममा मन्त्री बाँस्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा मूलभूत रुपमा विश्वमा प्रचलित आधुनिक सूचना प्रविधिमा पछिल्लो समयमा देखिएका चुनौतीको सामना गर्ने सन्दर्भमा आपसी सहकार्यका बारेमा छलफल भएको बताए ।
उनले भने, ‘आधुनिक सूचना प्रविधिको नयाँ रुप ‘विग डाटा’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जस्ता विषयमा पनि समाजलाई अघि बढाउनुपर्छ र त्यसका लागि हरेक देशले तयारी गरी आपसी सहकार्य गर्ने बारेमा छलफल भयो ।’
बैठकमा सूचना प्रविधिलाई आमजनताको पहुँच तथा जनताको आयमा प्रयोग गर्ने र सूचना प्रविधिको सुरक्षाबारेमा समेत छलफल भएको मन्त्री बाँस्कोटाले जानकारी गराए ।
बैठकमा हरेक समाजका मूल्य मान्यता र संस्कृतिको संरक्षण गर्दै डिजिटल प्रविधिको विकासका सन्दर्भमा समाजलाई आधुनिकतातर्फ लैजाने सम्बन्धमा छलफल भएको उनले जानकारी दिए । भ्रमणका अवसरमा मन्त्री बाँस्कोटाले दक्षिण कोेरियाका सूचना तथा विज्ञान प्रविधिमन्त्री यू योङ मिनसँग द्विपक्षीय वार्ता र छलफल भएको अवगत गराउँदै दक्षिण कोरियाले नेपालको ‘डााटा सेन्टर’लाई विस्तार र थप सुदृढ गर्न सहयोग गर्न सकारात्मक देखिएको बताए । रासस ।
प्रकाशित समय १७:०७ बजे

















