गृहपृष्ठ यसरी बिदाई गरियो श्रेयालाई
यसरी बिदाई गरियो श्रेयालाई
बलात्कारपछि हत्या गरिएकी पोखराकी श्रेया विकको दाहसंस्कार गरिएको छ । प्रशासनले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि परिवारले श्रेयाको शव बुझेर दाहसंस्कार गरेका हुन् । १० वर्षीया श्रेयाको हत्या भएको १० दिनपछि दाहसंस्कार गरिएको हो ।
बुधबार पोखराको रामघाटमा अन्तिम दाहसंस्कार गरिएको उनका हजुरबुबा लिलबहादुर सुनारले बताए । श्रेयाको दाहसंस्कारपछि शोक सभामा कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले अपराधी पक्राउ परेकाले उसलाई जन्मककैद सहितको कारबाही हुने बताए ।

श्रेयाको बलात्कारपछि हत्या गरेको आरोपमा पोखरा महानगरपालिका २२ का २७ वर्षीय कुशुम पौडेल पक्राउ परेका छन । श्रेयाको गत असोज ८ गते बलात्कारपछि हत्या गरिएको थियो ।
श्रेयाको परिवारलाई अष्ट्रेलियाबाट सहयोग
यसैबीच श्रेयाको परिवारलाई अष्ट्रेलियाबाट सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा सदस्य मात्रिकाप्रसाद बराल मार्फत अष्ट्रेलियाबाट प्राप्त ४० हजार नगद उनको परिवारलाई हस्तान्तरण गरिएको छ । अष्ट्रेलीयन नागरिक लरेन्स जस्मीले सदस्य बराल मार्फत श्रेया परिवारलाई दिएको उक्त रकम श्रेयाकी आमालाई उनको निवास पुम्दी भुम्दी कोदीमै पुगेर हस्तान्तरण गरिएको लिला आधारभूत बिद्यालयका शिक्षक तारा पौडेलले बताए ।

श्रेयाको परिवारको अवस्था कजोर भएकोले उनको परिवारमा परेको पीडालाई थोरै भएपनि रहात रकम जुटाएको बताउदै सदस्य बरालले आगामी दिनमा आवश्यक सहयोग जुटाउन पहल गर्ने बताए । श्रेयाकी आमा बिरामी भएकोले उपचारको लागि र उनका भाई, बहिनीको पढाई खर्चका दागि उक्त रकम विदेशबाट प्राप्त भएको बरालले बताए ।
‘हाम्रो समाजमा जगन्य अपराध भएको छ, जसको सिकार हाम्रै छोरी भएकोले त्यसको पिडामा घर परिवारसँगै हामी पनि छौ, त्यसैले हामीले सानो सहयोग गरेका हौं’, उनले भने ।पोखरा महानगरपालिका २२ का वडा सचिव रामप्रसाद पौडेलले अपराधी कानुनी कठघरामा आएकोले त्यसलाई कडा कारवाही गर्नको लागि निरन्तर खबरदारी गर्नु पर्ने बताए ।
सघर्ष समितिका संयोजक मिनबहादुर विकले अपराधी प्रहरीको नियन्त्रणमा आए पनि उनलाइ अदालतले फैसला नगरेसम्म आफूहरुको सघर्ष जारी रहने बताए । श्रेया विक संघर्ष समितिका सदस्य झम्कनाथ देवकोटाले श्रेया परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले सबैले सहयोग गर्नुपर्ने बताए ।
अर्का सदस्य विष्णुहरी बरालले न्यायको लागि सबै एक हुनु पर्ने भन्दै यस्ता घटनामा कुनै एक पार्टीले वकालत गर्न आवश्यक नभएको बताए ।यसअघि श्रेया परिवारको लागि झम्कनाथ बरालले १३ हजार १ सय विभिन्न व्यक्तिबाट संकलन गरेर उनको परिवारलाइ हस्तान्तरण गरेका थिए । केभसिटी मिडियाले केभसिटी भलिवल प्रतियोगितामा प्राप्त गरेको पुरस्कारको रकम २२ हजार २ सय २२ रुपैयाँ समेत सहयोग गरेको छ ।
प्रकाशित समय १६:२० बजे

















