गृहपृष्ठ काठमाडौँबाट फेरि १० वर्षीय बालककाे अपहरण
काठमाडौँबाट फेरि १० वर्षीय बालककाे अपहरण
सांकेतिक तस्बिर
काठमाडौंको गोठाटारबाट १० वर्षीय बालक अपहरणमा परेका छन् । बुधबार बिहान साढे १० बजे अज्ञात समूहले बालकलाई जबरजस्ती गाडीमा हालेर लगेको भन्दै बालकका आफन्तले बौद्ध प्रहरीमा उजुरी हालेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्तर–पूर्वको तेजविनायक चोकबाट बालक अपहरणमा परेका महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । कालो चेक सर्ट र हाफ प्यान्ट लगाएका बालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनलाई तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर देखेको केही स्थानीयले बताएका छन् । ‘बालकलाई अपहरण गरिएको स्थानीयले देखेर खबर गरेका छन्, परिवारसँग बालक वा अरु कसैले सम्पर्क पनि गरेका छैनन, खोजी कार्य जारी राखेका छाँै,’ प्रहरी नायव उपरीक्षक राईले न्यूज कारोबारसँग भने ।
बालक खोजीका लागि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको टोलीले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रहरी परिचालन गरेको छ । खोजीको लागि एसएसपी धिरजप्रताप सिंह नेतृत्वको टिम खटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी, बौद्ध वृत्तका डिएसपी श्यामकुमार राई र बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्ले केहीबेर अघि घटनास्थल पुगेका छन् । गत साउन २० गते काठमाडौं काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको थियो । अपहरणमा संलग्न दुबै जनालाई प्रहरीले इन्काउन्टर गरी मारिदिएको थियो ।
प्रकाशित समय १७:०९ बजे

















