गृहपृष्ठ निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँछौं : मन्त्री यादव
निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँछौं : मन्त्री यादव
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ स्वास्थ्य सेवामा पछाडी रहेको भन्दै स्वास्थ्य क्षेत्रको विकासका लागि स्तरीय स्वास्थ्य प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल खोल्ने बताएका छन । जनकपुरमा भएको कार्यक्रममा मन्त्री यादवले जनकपुर अञ्चल अस्पताललाई नाम परिवर्तन गरि प्रादेशिक अस्पताल घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्दै उनले जनकपुरलाई मेडिकल हब बनाउन अस्पतलमा मेडिकल कलेज समेत खोल्नुपर्ने बताए ।
नागरिकलाई निःशुल्क आधारभूत स्थास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताउदै उनले निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसदमा प्रस्ताव लगि सकेको बताए ।
नगरपालिका, गाउँपालिका देखि हरेक वडामा स्वास्थ्य चौकी खोल्ने बताउँदै स्वास्थ्य मन्त्री यादवले जनकपुर अञ्चल अस्पतालको बाहिरंग विभागको संरचना नै पूरा नभएका अधुरा भवनको हतारमा उद्घाटन गर्दै भने,‘निःशुल्क आधारभूत स्थास्थ्य सेवाका लागि हामी प्रत्येक नगर, गाउँपालिका र वडामा स्वास्थ्य संस्था खोल्छौँ ।’ स्वास्थ्य संस्था खोल्न आवश्यक परे कोठा भाडामा समेत लिने उनले बताए ।
उनले एक अस्पालको जाँच रिपोर्ट अर्को अस्पतालमा गएर नमिल्ने र गलत पनि ठहर हुने गरेको स्मरण गर्दै सबै प्रदेशमा स्तरीय स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागको बताए । मन्त्री यादवले प्रदेश २ मा अब क्यान्सर अस्तपताल निर्माण गर्न सरकारले अध्ययन समिति समेत गठन भइसकेको जानकारी दिँदै अध्ययन समितिले उपयुक्त ठाउँको अध्ययन गरिरहेको जानकारी दिए ।
तत्कालिन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सहिद रामवृक्ष यादव स्मृतिको नाममा उद्घाटन गरेको जनकपुर अंचल अस्पतालको ८ सैयाको आइसियु सेवाको फेरि मन्त्री यादवले उद्घाटन समेत गरेका छन ।
जनकपुर अति फोहोर भएको मन्त्री यादवको गुनासो
जनकपुर पुगेका स्वास्थ्य मन्त्री यादवले जनकपुर अति फोहोर भएको बताएका छन । प्रदेश २ को अस्थायी राजधानी र जानकीको जन्म स्थलमा जनकपुरमा फोहोर देखेर मन्त्री यादवले सफा गर्न सम्बन्धित निकायको ध्यानकर्षण गराए । मन्त्री यादवले जनकपुरको फोहोर हटाउन अमेरिकाबाट मान्छे आउँछ त भन्दै प्रश्न गरेका थिए ।
‘जनकपुरको प्रवेशद्धार पिडारीचौकमै बन्द गरेर हिड्नुपर्ने अवस्था छ । जताततै फोहोरमैला छ । सरसफाईकालागि पर्याप्त बजेट पनि आउँछ तर पनि काम हुँदैन । अब बजेट आएर पनि स्थानीय सरकारले काम नगरे कसले गर्ने अमेरिकाबाट मान्छे आउँछ त ?’ मन्त्री यादवले भने । उनले स्वच्छ सफा तथा हराभरा जनकपुर बनाउन र पर्यटकीय विकास गर्न सरसफाई अभियान चलाउनुपर्नेमा समेत जोड दिए ।
प्रकाशित समय १५:०८ बजे

















