गृहपृष्ठ सालको काठ तस्करीमा संलग्न ५ जना पक्राउ, काठ बरामद
सालको काठ तस्करीमा संलग्न ५ जना पक्राउ, काठ बरामद
दाङको लमहीबाट अबैधरुपमा सालको काठ लैजाँदै गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गढवाले पाँच काठ तस्करसहित २३ क्यूफिट सालको गोलिया र घप्पुसमेत बरामद गरेको छ ।
गढवा गाउँपालिका–४ पर्सेनीबाट उनीहरूलाई पक्राउ गरिएको गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिएका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–४ पर्सेनी निवासी ३५ वर्षीय राजकुमार चौधरी, २५ वर्षीय राजाराम चौधरी, ३४ वर्षीय पिताम्वर चौधरी र गढवा गाउँपालिका–५ सोनपुरुवा निवासी ३४ वर्षीय ओकप्रकाश चौधरी छन् ।
उनीहरुलाई वन ऐनअन्तर्गत कारवाही अगाडि बढाइएको छ । पक्राउ परेको काठ वन सेक्टर कार्यालय गढवालाई जिम्मा लगाएको गोलेले जानकारी दिएका छन् ।
ठूलो परिमाणमा काठ बरामद
सिरहाको लहान नगरपालिका–१५ शोभापुरबाट सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा गए राति ठूलो परिमाणमा काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बेसक्याम्प लहानबाट खटिएको टोलीले सालको तयारी झ्याल, ढोकाको ६३ थान १४.२९ क्यूफिट काठ बरामद गरेको हो ।
बरामद काठ आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाएको सशस्त्र प्रहरी बेसक्याम्प लहानका प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए । (रासस)
प्रकाशित समय १०:१६ बजे

















