गृहपृष्ठ जुवाडेको अखडामा प्रहरी अपरेसन, झ्यालबाट हाम फाल्दा दुई जनाको मृत्यु
जुवाडेको अखडामा प्रहरी अपरेसन, झ्यालबाट हाम फाल्दा दुई जनाको मृत्यु
२३ पक्राउ, नाइके फरार
सांकेतिक तस्बिर
काठमाडौंको मुलपानीमा गएराति जुवा खेलिरहेको स्थानमा अकस्मात प्रहरी पुग्दा मच्चिएको भागडौडमा दुई जनाको मृत्यु भएको छ । २३ जना जुवाडे पक्राउ परेका छन् ।
ठूलो समूहमा जुवा खेलेर बसिरहेका जुवाडेहरु प्रहरी पुग्नेवित्तिकै झ्यालबाट हाम फाल्दा सरोज घले र सानुलाल तामाङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । काठमााडौं प्रहरी परिसरबाट गोप्य सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइएको घरमा पुगेका थिए । प्रहरी पुग्ने वित्तिकै भागाभाग भएको थियो ।
मुलपानीस्थित तामाङ थरका व्यक्तिको तीन तले घरमा लामो समयदेखि जुवा खेलाइएको सूचनाका आधारमा प्रहरी पुगेको थियो । घरबेटी पनि पक्राउ परेका छन् ।
प्रहरी आएको सुइको पाउनेबित्तिकै भागाभाग भएको थियो । त्यही क्रममा तेस्रो तलबाट दुई जनाले हाम फालेका थिए । हाम फालेका उनिहरुलाई भ्यानमा राखेर ग्वार्कोस्थित बिएण्बी अस्पलाल पुर्याइएको भए पनि गएराति नै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नाइके फरार
मुख्य नाइके हेमा गुरुङ रहेको खुलेको छ । जुवाको खालबाट २३ जनालाई पक्राउ गरे पनि गुरुङ भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । नाइके गुरुङले सो क्षेत्रमा लामो समयदेखि जुवा खेलाउदै आएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ, एउटा कार र १० वटा मोटरसकाइकलसमेत बरामद गरेको छ ।
जुवा खेलाइने घर मालिकलाई हरेक पटकको १० हजार रुपैयाँ दिइने गरेको अनुसन्धाबाट खुलेको बताइएको छ ।
प्रकाशित समय ०८:११ बजे

















