गृहपृष्ठ माइक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य
माइक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य
काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मंसिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।
शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीसँग बसेको बैठकले मंसिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिएका छन् । तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन सुरु गरिए पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए ।
महासंघका महासचिव सरोज सिटौलाले उक्त ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताए । ठूला सवारीसाधनमा समेत क्रमश ज्याकेट लगाउने व्यवस्था गर्ने उनको भनाइ छ ।
महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरेको थियो । (रासस)
प्रकाशित समय ०८:४० बजे

















