गृहपृष्ठ पप्पुपछि दुई ठेकेदार सांसदतिर अख्तियारको आँखा

पप्पुपछि दुई ठेकेदार सांसदतिर अख्तियारको आँखा

कांग्रेस सांसद जिपछिरिङ लामा र बहादुरसिंह लामाले पाउलान् त उन्मुक्ति ?

पुल निर्माणमा लापरबाही गर्ने सांसद हरिनारायण रौनियारविरुद्ध अख्तियारले मुद्धा दायर गरे पनि कालो सूचीमा रहेका अन्य ठेकेदार सांसदलाई अहिलेसम्म कसैले छुन सकेको छैन ।

राजनीतिक शक्तिको आडमा ठेक्का कार्टेलिङमा सक्रिय सांसदले धेरैजसो उन्मुक्ति पाउँदै आएका छन् । अख्तियारको मुद्दापछि पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रौनियार सांसद पदबाट स्वतः निलम्बित भए पनि उनी जस्तै चरित्रका सांसदहरु ठांटका साथ हिडिरहेका छन् । गृहमन्त्रालय स्रोतका अनुसार संसद्मा रौनियार जस्तै अन्य चार ठेकेदार कालोसूचीमा छन् । काग्रेस सांसदद्वय जिपछिरिङ लामा र बहादुरसिंह लामा ठेक्कामा कार्टेलिङ गर्ने, कमसल काम गर्ने र आयोजना अलपत्र पार्नेमा सक्रिय छन् ।

पप्पु कन्स्ट्रक्सनसँग मात्रै ५ सय किलोमिटर पुलको ठेक्का छ । १५ अर्ब रुपैयाँको ठेक्कामा ४० पुलसहित विभिन्न योजना छन् । पप्पुले एउटै पनि आयोजनाको सन्तोषजनक कार्य सम्पादन गरेको छैन । पप्पु कन्स्ट्रक्सनको कामकारबाहीले राज्य संयन्त्र र प्रशासनिक कार्यशैलीको खिल्ली उडाउँदा पनि नियमन निकाय मौन बसेको भन्दै आलोचना भएपछि अख्तियारले मुद्धा दायर गरेको छ । संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको होे । रौनियारलाई कारवाहीको लागी अख्तियारले प्रक्रिया सूरु गरेपछि अरु निर्माणमा लापरवानही गर्ने अरु सांसदहरुलाई के हुन्छ भन्ने प्रश्न आमरुपमा देखिएको छ ।

सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक राय सुझाव र निर्देशन दिने संसद्को विकास समितिमै रहेका ठेकेदार सांसदलाई कारबाही हुनेमा धेरैले आशंका गरेका छन् ।

 

बहादुरले ठेक्का लिएका सडक र पुल अलपत्र
स्वार्थ बाझिने गरी संसदीय समितिमा बसेका लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा भने ठेक्का हात पार्नै सक्रिय छन् । यी सांसदले ठेक्का लिएका काम अधिकांश अधुरा छन् । निर्माण सम्पन्न भएका काम समेत गुणस्तरहिन भएको प्राविधिक बताउछन् ।

बहादुरसिंहको कम्पनीले ठेक्का पाएको धादिङ–नुवाकोट जोड्ने मोटरेबल पुल एक वर्षअघि बनाइसक्नुपर्ने भए पनि २५ प्रतिशत मात्रै काम सकिएको छ । गल्छी–स्याफ्रुबेसी सडकमा ११ पुलमध्ये २ वटा मात्रै निर्माण सुरु भएको छ । लामाले १२ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का अलपत्र पारेको सडक विभागले जनाएको छ । लामा कांग्रेस सांसद हुन् ।

 

जिपछिरिङको राजधानीमै लापरबाही
अर्का काग्रेस सांसद् जिपछिरिङ लामाको निर्माण कम्पनीले ठेक्का पाएको अधिकांश योजना पनि अलपत्र छन् । चाबहिल–जोरपाटी–बागमति–साँखु सडकको लामा कन्स्ट्रक्सनले एक किलोमिटर ४० मिटर खण्डको ठेक्का पाएको छ । इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लुभु लामाटार सडकको ४ किलोमिटर सडकको ठेक्का पनि लामाले हात पारेका छन् । ति सबै काम अधुरो हुँदा सर्वसाधारणले धुलो, धुवा र हिलोको सास्ती झेल्नुपरिरहेको छ ।

कर्मनासा–हरिसिद्धि–गोदावरी कुण्ड सडक खण्डको साढे तीन किलोमिटरको ठेक्का लिएको लामाकै कम्पनीले त्यँहा पनि काम पूरा गरेको छैन ।

 

लामाद्वयमाथि पनि छानबिन हुने
बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा लापरबाही प्रमाणित भएपछि पप्पु कन्ट्रक्सनका मालिक रौनियारविरुद्ध जागेको अख्तियार लामाद्वय सांसदप्रति समेत आक्रामक देखिने संकेत गरेको छ । उनीहरु सरकारलाई निर्देशन दिने विकास समितिकै सदस्य हुन् ।

प्रतिनिधिसभा नियमावली विपरित सांसदहरू स्वार्थ बाँझिने समितिमा बसेका छन् । नियमावलीको नियम २१६ मा सांसदले पालना गर्नुपर्ने आचारसंहितामा स्वार्थ बाझिएका व्यक्ति समितिको सदस्य हुन नपाउने व्यवस्था छ । तर नियमावली मिचेर समितिको सांसद बनेका उनीहरुले आफैलाई कारबाही गर्न सरकारलाई निर्देशन दिने त छैनन् नै ।

अख्तियारले विकास निर्माणमा अनियमितता गर्ने ठेकेदार सांसदलाई समेत नछाड्ने जनाएको छ । अनियमितता गर्ने ठेकेदार सांसदका बारेमा उजुरी परे तत्कालै छानबिन गर्ने अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले बताएका छन् । उनले न्युज कारोबारसँग भने, ‘अहिले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा लापरबाही भएको विषयमा क्षतिपुर्ती विगो दाबी गर्दै एक सांसदसहित १२ जना विरुद्ध मुद्दा दर्ता गरेका छौ, निर्माणमा लापरबाही गर्ने ठेकेदार सासद होस् या जो कोही, छानबिन हुन्छ ।’

यो पनि पढ्नुस्-

पप्पु कन्ट्रक्सनले गरेको अनियमिततामा कर्मचारीकै मिलोमतो !

प्रकाशित समय ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु