गृहपृष्ठ पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि
पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि
गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारी
सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार/कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।
आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिए । श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउदैँ आएका थिए ।
मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजिनामा बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताए ।
सात सदस्यीय कार्यदल गठन
आइतबारको मन्त्रिपरिषद् बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी सात सदस्यीय कार्यदल गठन गरेको छ ।
राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, उखु उत्पादक संघ, चिनी उत्पादक संघ, उपभोक्ता हित संरक्षणसम्बन्धि संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सह–सचिव रहेको कार्यदल गठन गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।
बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऊर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागि ऋण स्वरुप ११ अर्ब ६३ करोड स्वीकृत गर्नको लागि अर्थसचिवलाई अख्तियारी प्रदान गरेको छ ।
जापान सरकारले सिन्धुली सडक सुधारका लागि प्रदान गर्ने एक अर्ब चार करोड स्वीकृत गरेको छ । त्यस्तै सोही बैठकले नागरिक लगानी कोषको सञ्चालकमा डा. रामचन्द्र भट्टराईलाई मनोनयन गरी सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्रसंघको ७३ औं महासभा, उक्त महासभामामा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग गरेका दुइपक्षीय भेटवाता र आपसी सम्बन्ध विस्तारबारे भएको पहल तथा कोस्टारिका भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जानकारी गराएका थिए ।
आइतबारकै मन्त्रिपरिषद् बैठकले नेपाल प्रज्ञा प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्यसचिवमा प्रा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेको थियो । रासस ।
प्रकाशित समय १६:०९ बजे

















