गृहपृष्ठ दसैंका लागि १६ हजार भेडाच्याङ्ग्रा
दसैंका लागि १६ हजार भेडाच्याङ्ग्रा
दसैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ ।
म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौंलगायत स्थानका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम पुगिरहेका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको जानकारी दिएको छ ।
मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान केन्द्रले गरेको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । पाँच सय ५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गंगाप्रसाद शाहले जानकारी दिएका छन् ।
मुस्ताङमा एउटा च्याङग्रा १७ हजारदेखि २२ हजार तथा भेडा १४ हजारदेखि १७ हजार रुपैयाँका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो रु ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौंमा जिउँदो प्रतिकिलो ६५० रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ । (रासस)
प्रकाशित समय ०८:२५ बजे

















