गृहपृष्ठ प्रधानमन्त्रीलाई भेट्न राउटेको टोली काठमाडौंमा
प्रधानमन्त्रीलाई भेट्न राउटेको टोली काठमाडौंमा
राउटेले भने– ‘परिचयपत्र चाहिँदैन भत्ता चाहियो’
वर्षौदेखि जंगलमा बसोबास गर्दै आएका लोपोन्मुख राउटे समुदाय बस्तीमा छिर्न थालेका छन् । मानिससँग घुलमिल हुन नरुचाउने राउटे समुदाय पछिल्लो समय बस्तीमा छिर्न थालेका हुन् । पछिल्लो समय राउटे समुदाय परनिर्भर बन्दै गएका छन् । जंगलमा कन्दमुल नपाइने र जंगल फडानी भएसँगै काठका सामाग्री बनाउन कठिन भएपछि उनीहरु गुजरा चलाउनका लागि बस्तीमा छिर्न थालेका हुन् ।
नेपालीको महान पर्व दसैं नजिकिएको छ । दसैं मनाउन खर्च नभएपछि राउटेको एक टोली प्रधानमन्त्री केपी ओलीलाई भेट्न काठमाडौं हिडेका छन् । आफूहरुको दुख सुनाउन र दसैं खर्चका लागि राउटेको टोली काठमाडौं हिडेका हुन् । आफूलाई जंगलको ‘राजा’ मान्ने राउटे समुदायका मुखियाको नेतृत्वमा टोली सुर्खेतबाट काठमाडौंका लागि हिडेका छन् ।
राउटे लोपोउन्मुख सिमान्तकृत वर्ग उत्थान नेपालको संयोजनमा सुर्खेतको लेकवेशी नगरपालिका–९ गंगटेमा बस्दै आएको राउटे समुदायका तीन जना ‘जनता’ सहित मुखिया मुखिया हरिबहादुर शाही सोमबार राजधानी हिडेका हुन् ।
चार्डपर्व नजिकिएसँगै प्रधानमन्त्रीसँग भेट गर्ने र ‘जनता’ का गुनासो सुनाउन काठमाडौं जान मुखिया हरिबहादुरले बताए । दैलेखको गुरास गाउँपालिकामा बस्दै आएका राउटे केहि दिनअघि सुर्खेतको लेकवेशी झरेका हुन् । गुरास गाउँपालिकाले राउटेलाई अस्थायी परिचय पत्र वितरण गरेको थियो । तर, उनीहरुले परिचय पत्र त्यागेर लेकवेशी झरेका हुन् ।
‘गाउँपालिकाले परिचय पत्र दिएको थियो, घरमा परिचय राखेपछि जंगलमा भएको सिकार समेत (पासो)मा परेन’ उनले भने, ‘त्यही भएर परिचयपत्र जंगलमै फालेर बस्तीमा झरेका हौं ।’ जनताका लागि लत्ताकपडा र खानेकुरा ल्याउने प्रतिबद्धतासहित प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौं जना लागेको बताए । दसैंको लागि खसी समेत ल्याउने उनको योजना छ ।
उनले आफूहरुको बस्ती जहाँ सर्यो त्यहीँबाट सामाजिक सुरक्षा भत्ता समेत पाउनुपर्ने बताए । ‘भत्ताका लागि परिचय पत्र चाहिदैन, परिचय पत्र राखेपछि सिकार एउटा पनि परेन’ उनले भने, परिचय पत्र भन्दा भत्ता दिने नीति चाहियो ।’
लोपोन्मुख राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले दसैंको लागि माग्न नभइ गास, बास र कपासको दीर्घकालीन व्यवस्थाका लागि सरकारलाई आग्रह गर्न राउटेको टोली काठमाडौं जान लागेको बताइन् । ‘राउटेहरु अब जंगलको भरमा मात्रै बाच्न सम्भव छैन’ उनले भनिन्, ‘कर्णाली प्रदेश सरकारले राउटेहरुका लागी गास, बास र कपासको लागि पहल नगरेपछि उनीहरु प्रधानपमन्त्रीलाई भेट्न हिडेका हुन् ।
प्रकाशित समय ११:५० बजे

















