गृहपृष्ठ भूकम्पपीडितले पहिलो किस्ता पुस मसान्तसम्म लिइसक्नुपर्ने
भूकम्पपीडितले पहिलो किस्ता पुस मसान्तसम्म लिइसक्नुपर्ने
राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा पुष मसान्तसम्म थपेको छ । प्राधिकरणको हालै बसेको निर्देशक समितिको बैठकले तीनै किस्ता बुझ्ने मिति थप गरेको हो ।
यसअघि २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिइसक्नु पर्ने भनिएको थियो । तर धेरैले नलिएकाले पुस मसान्तसम्म समयावधि थप गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै २०७६ बैसाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।
थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले बताए । ‘धेरै पीडितले पहिलो, दोस्रो र तेस्रो किस्ता अझै नलिइसकेकाले समय थपेका हौं,’ उनले भने ।
गुनासो सुनुवाइबाट आएका र पुनःसर्वेक्षण जोखिम वर्ग परम्परागत बस्ती एवं स्थानान्तरबाट आउने लाभग्राहीको लागि उल्लेखित अनुदान किस्ता प्राप्त गर्ने समयवधी कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार तीन लाख पाँच हजार ८८३ निजी आवासको पुनःनिर्माण सम्पन्न भएको छ । त्यस्तै दुई लाख ५१ हजार ५२७ घर निर्माणको क्रममा छन् ।
प्रकाशित समय १६:२७ बजे

















