गृहपृष्ठ अझै खुल्न चाहँदैनन् एचआइभी सङ्क्रमितहरु
अझै खुल्न चाहँदैनन् एचआइभी सङ्क्रमितहरु
पर्वतस्थित फलेवास नगरपालिका निवासी २० वर्षीय एक युवक स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनी एचआइभी संक्रमित युवा हुन् । उनी यसबारे कसैसँग पनि खुलेर कुरा गर्न चाहँदैनन् ।
आफू एचआइभी संक्रमित भएको थाहा पाएपछि समाजले आफूप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्छ भन्ने डरले उनी खुल्न नसकेको हुन् ।
उनी आफ्ना कारण नभई आफ्ना अभिभावक (बुवा÷आमा) का कारण एचआइभी÷एड्स संक्रमित भएका हुन् । हाल एचआइभी संक्रमणकै कारण उनले परिवारका सबै सदस्य गुमाइसकेका छन् । परिवारमा बाँकी रहेकी एउटी दिदीको पनि दुई वर्ष अघि विवाह भइसकेको छ । दिदी भने एचआइभी संक्रमित होइनन् ।
समाजले एचआइभी संक्रमितहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेका कारण जिल्लामा आफू लगायतका थुप्रै संक्रमितहरु खुल्न नसकेको उनले बताए ।
यस्तै, फलेवास नगरपालिकाभित्रैका २९ वर्षीया अर्का एक युवक पनि समाजले संक्रमितहरुप्रति गर्ने व्यवहार पेचिलो भएका कारण आफू जस्तै साथीहरु खुल्न र सहज ढङ्गबाट प्रस्तुत हुन नसकेको बताउँछन् । अहिलेसम्म विवाह बन्धनमा नबाँधिएका उनको परिवारमा उनी मात्रै एचआइभी संक्रमित हुन् ।
शुरुमा एचआइभी संक्रमण छ भन्ने थाहा पाउँँदा आफू छाँगाबाट खसेजस्तै भएको उनी बताउँछन् । उनी भन्छन्, ‘शुरुमा त मैले आत्महत्या गर्ने प्रयास पनि गरेको थिएँ । पछि कम्युनिटी सर्पोट गु्रपले धेरै सहयोग गर्यो र थप बाँच्ने प्रेरणा भर्यो । अहिले म आफूलाई मात्र होइन म जस्तै अरुलाई पनि सम्झाउन सक्ने भएको छु ।’
‘एचआइभी आफैँमा रोग होइन, यसले त रोगप्रतिरोधात्मक क्षमता कमजोर गराउने मात्र हो । पथपरहेजमा बस्न सक्यो र एआरटी नियमित प्रयोग गर्यो भने आयु लम्ब्याउन सकिन्छ । संक्रमित भएपछि पनि मानिस ३०–४० वर्ष बाँच्न सक्छ,’ उनले भने, ‘विगतमा हामी आफ्ना लागि मात्र बाँचेका थियौं तर अहिले जीवन के हो थाहा पायौं र अरुका लागि पनि केही गरौं भनेर बाँचिरहेका छौं ।’
उनले आफू भारतको मिजोरम स्टेटमा रहेको र त्यहाँ केटी साथीहरुसँग खुल्ला यौन सम्पर्क गरेका कारण एचआइभी संक्रमित भएको खुलासा गरे । उनले भने, ‘सत्र–अठार वर्षको उमेरमा ड्रक्स युज गर्ने केटी साथीहरुको सङ्गत थियो । उनीहरुमा संक्रमण भएको मलाई थाहा भएन । खुल्ला यौन सम्पर्क गरेँ जसका कारण म आफैँ संक्रमित भएँ ।’
समाजले आफूहरुप्रति हेर्ने दृष्टिकोण र गर्ने व्यवहार जबसम्म परिवर्तन हुँदैन तबसम्म संक्रमितहरु खुल्न नसक्ने उनले दोहोर्याए ।
त्यस्तै, कुश्मा नगरपालिकाभित्रैका ४० वर्षीया एक पुरुष पनि एचआइभी संक्रमित छन् । उनी पनि खुलेर कुरा गर्न चाहँदैनन् । भारतमा काम गर्न गएको बेला उनले त्यहीँका स्थानीय महिलासँग विवाह गरेका थिए । पछि श्रीमतीले छाडेर हिँडेपछि उनी नेपाल फर्किए । सामान्य बिरामी भइरहने र बेहोस भइरहने समस्या उनमा पहिलेदेखि नै देखिइरहन्थ्यो ।
उनले गोर्खा माइत भएकी एक महिलासँग विवाह गरे । खुशीसाथ नयाँ जीवन सँगिनीसँग रमाइरहेका उनलाई विवाह गरेको सात महिना पछि एकाएक एचआइभी संक्रमण भएको थाहा भयो । उनी छाँगाबाट खसे जस्तै भए । शुरुमा श्रीमतीलाई पनि बताउन सकेनन् । कहाँ जाउँ ? के गरुँ ? मरुँ वा बाँचु ? यस्तो तनावमा जीवन व्यतित गर्नपरेको उनी बताउँछन् ।
समय घर्किँदै गएपछि नबताएर पनि साध्य लागेन । विस्तारै सबै कुरा उनले श्रीमतीलाई बताए । श्रीमती एचआइभी संक्रमित भने होइनन् । यद्यपि तिनले नियमित स्वास्थ्य जाँच गराइरहेकी छन् । आफूले दायाँबायाँ यौन सम्पर्क नगर्ने गरेको भए पनि पहिलाको श्रीमतीबाट आफू संक्रमित भएको हुनसक्ने उनको अनुमान छ ।
यी र यस्ता धेरै संक्रमितहरुले कम्युनिटी सपोर्ट गु्रप पर्वतबाट सहयोग लिइरहेका छन् । तर उनीहरु सबै अझै पनि समाजमा खुल्न भने चाहिरहेका छैनन् ।
राज्यले संक्रमितहरुका लागि केही न केही सहयोग उपलब्ध गराइरहेको छ भने विभिन्न संघसंस्थाहरुले एचआइभी÷एड्स संक्रमितहरुको क्षेत्रमा काम गरिरहेका छन् । सबैमा चेतनाको स्तर धेरै माथि पुगिसकेको भए पनि समाजमा अझै संक्रमितहरु खुल्न नसकेको अवस्था विद्यमान छ ।
संक्रमितहरु खुल्ने वातावरण तयार गर्न राज्यस्तरबाट समुदायमा अझै थप चेतनामूलक कार्यक्रमहरु ल्याउन जरुरी भएको कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले बताउँछिन् । उनी भन्छिन्, ‘संक्रमित भएपछि समाजले गर्ने हेला होचोका कारण उहाँहरु खुल्न नसक्नु भएको हो । हामीहरुले एचआइभी संक्रमितहरुलाई अन्य मानिस सरह व्यवहार गर्न जरुरी छ ।’
पर्वत जिल्लामा एचआइभी÷एड्सको क्षेत्रमा काम गरिरहेको कम्युनिटी सपोर्ट गु्रपका कार्यक्रम संयोजक प्रेम केसीले दिएको जानकारी अनुसार हाल यस जिल्लामा १०७ एचआइभी संक्रमित छन् । यसमा पुरुष ४८ र महिला ५९, १८ वर्ष मुनिका किशोर तीन र किशोरी चार जना छन् ।
सिएसजीको पछिल्लो तथ्यांक अनुसार अन्य जिल्लाबाट सेवा लिन आएका १७ जना, प्रवासी ८ जना र सेवा लिन छाडेका तीन जना छन् भने निरन्तर सेवा लिइरहेका ६९ जना छन् । संक्रमितमध्ये ८ जनाको मृत्यु भइसकेको छ ।
उनका अनुसार अधिकांश सेवाग्राहीहरु भारत तथा अन्य मुलुकमा रोजगारका लागि जाने क्रममा संक्रमित हुने गरेको र उनीहरुबाटै श्रीमती तथा छोराछोरीलाई संक्रमण हुने गरेको छ । अहिलेको तथ्यांक हेर्दा धेरैजसो दलित र विपन्न परिवारका सदस्यहरु एचआइभी संक्रमणमा परेका छन् ।
पर्वतमा एचआइभी÷एड्स संक्रमितको संख्या विगत वर्षहरुको तुलनामा बढ्दै गएको छ । गु्रपले दिएको जानकारी अनुसार गत वर्ष १०३ जना संक्रमित भएकामा यो वर्ष बढेर १०७ पुगेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी लिनेको संख्या भने लगभग त्यसको आधा मात्रै छ ।
जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स फोकल पर्सन जनार्दन गिरीका अनुसार पर्वत जिल्लाको एआरटी सेन्टरबाट हाल ५६ जना संक्रमितले मात्र एआरटी सेवन गरिरहेका छन् । केहीले छिमेकी जिल्लाहरुबाट पनि यो सेवा लिइरहेका छन् । (राजु पौडेल/रासस)
प्रकाशित समय १३:५१ बजे

















