गृहपृष्ठ आज कोजाग्रत पूर्णिमा, दसैंको समापन
आज कोजाग्रत पूर्णिमा, दसैंको समापन
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बुधबार मनाइँदै छ । साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर यस वर्षको बडादसैंको समापन गरिँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
‘सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन्’ भन्ने धार्मिक विश्वास छ ।
नेपाल पञ्चांक निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर बुधबार दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेष रुपले गरिने तुलसी पूजा पनि बुधबारदेखि नै सुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।
प्रकाशित समय १४:३१ बजे

















