गृहपृष्ठ रसुवामा रिपिटर टावर बनाउन माग

रसुवामा रिपिटर टावर बनाउन माग

पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउन रिपिटर टावर जडान गरिदिन पर्यटन व्यवसायीले माग गरेका छन् । लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाका अनुसार भूकम्पपछि लाङटाङ क्षेत्रमा पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ ।

हिमाली क्षेत्रको पदयात्रामा रहँदा आफन्तजनलाई सहजै सूचना दिन टेलिफोनको तथा इन्टरनेटको अभाव छ । ‘त्यसैले बृद्धिमको माथिल्लो भाग लाङटाङ हिमालको काखमा पर्ने पाङसाङमा नेपाल टेलिकमको रिपिटर टावर स्थापना गर्न टेलिकमसँग माग गरिएको हो,’ लामाले भने ।

पाङसाङमा राखिने रिपिटर टावरले क्याङजेनलगायत लाङटाङ क्षेत्रका पर्यटकीय मार्गको पूरै भागमा सञ्चार सुविधा सहज हुने पर्यटन व्यवसायी बताउँछन् । नेपाल टेलिकमले भूकम्पपछि लाङटाङमा जडान गरेको सिडिएमए टावरले त्यति राम्रो काम गर्न सकेको छैन । सञ्चारको थप सुविधा बढाउन सकिए पर्यटकको आगमन बढ्नेमा आफूहरु आशावादी भएको स्थानीय पर्यटन व्यवसायी दिण्डुप तामाङले बताए ।

नेपाल टेलिकम रसुवाले भने लाङटाङ क्षेत्रमा सिडिएमए मोबाइल सेवा भूकम्पपछि नै सञ्चालन गराइएको र नमस्ते (जिएसएम) का लागि सर्भे प्रक्रिया अगाडि बढाएको बताइएको छ । लाङटाङलगायत क्षेत्रमा गत वर्ष १३ हजार ७८९ पर्यटकले भ्रमण गरे । यस वर्षको साउनदेखि हालसम्म दुई हजार बढी पर्यटकले हिमाली क्षेत्रको भ्रमण गरिसके । पर्यटकको आउने क्रम दिनानुदिन बढ्दै गएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ ।
रासस

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु