गृहपृष्ठ सोलुखुम्बुमा न्यानो कपडाको व्यापार बढ्यो

सोलुखुम्बुमा न्यानो कपडाको व्यापार बढ्यो

व्यापारी भन्छन्– भ्याइनभ्याई छ

सोलुखुम्बुमा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको व्यापारीले बताएका छन् ।

कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो सुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए । सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यू ए वान टेलरिङ सेन्टर’ सञ्चालक विश्राम हिङमाङले जानकारी दिए । ‘ज्याकेटको माग अत्यधिक आएको छ,’ उनले भने, ‘हामीलाई भ्याइनभ्याई छ ।’

माग बढे पनि ज्याकेट बनाउने जनशक्तिको अभाव छ । ‘काम गर्ने जनशक्ति कम हुँदा माग अनुसार ज्याकेट उत्पादन गर्न सकिएको छैन,’ दर्जीले भने । सोलुखुम्बु वस्त्रालयका सञ्चालक राजन भुसाल अर्डर अनुसार ज्योकट बनाउँदा ग्राहकलाई सस्तो पर्ने बताउँछन् । दैनिक ज्याकेटको व्यापारमा वृद्धि हुँदै गएको भुसालले बताए ।

‘अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले व्यापारमा वृद्धि भएको छ,’ उनले भने । जाडो चाँडै सुरु भएका कारण न्यानो कपडा किन्नेको संख्या बढेको हो । व्यापारी रमेश बस्नेत जाडोको याम अघि दैनिक २० हजारको व्यापार हुने गरेकामा अहिले ३० हजारदेखि ३५ हजार सम्मको कारोबार हुने गरेको बताउँछन् ।
रासस

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु