गृहपृष्ठ गाउँमै खानेपानी पुगेपछि स्थानीयवासी खुशी
गाउँमै खानेपानी पुगेपछि स्थानीयवासी खुशी
बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी बोक्दै आएका पाल्पा सिलुवा माथिल्लोथरका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दंग छन् ।
वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य पूर्वखोला गाउँपालिका–१ स्थित उक्त स्थानका बासिन्दालाई बिहान उठेपछि अरु कामकाजभन्दा खानेपानीको जोहो गर्नुपर्दा निकै पिरलो हुन्थ्यो तर अहिले घरघरमा जडान गरिएका धारामा पानी आएको देख्दा उनीहरूलाई राहत मिलेको छ ।
खानेपानीका लागि निकै समस्या झेल्दै आएका उनीहरूको अथक प्रयास र मेहनतपछि खानेपानी तथा सरसफाइ कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुर्याइएको हो ।
बिहान झिसमिसेमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या हटेको स्थानीयवासी प्रेमकुमारी हिस्की बताउछिन् । उक्त आयोजनामार्फत ६० घरधुरीमा गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी पानी वितरण गरिएको छ ।
सो आयोजनाका लागि २० घनमिटरको दुई वटा ट्यांकी निर्माण गरी ४९ वटा धारा घरघरमा जडान भइसकेको छ । सरकारको ४२ लाख, स्थानीयवासीको जनश्रमदान ११ लाख गरी ५३ लाख रुपैयाँ बराबरको लागतमा सो आयोजना सम्पन्न भएको संयोजक मानबहादुर बयम्बुले जानकारी दिए ।(रासस)
प्रकाशित समय ०८:०९ बजे

















