गृहपृष्ठ कुन नेताले कसको हातबाट लगाउँदैछन् टीका ?

कुन नेताले कसको हातबाट लगाउँदैछन् टीका ?

bhaitika सांकेतिक तस्बिर

आज तिहार अर्थात् यमपञ्चकको पाँचौ दिन भाइटीका । दाजुभाई दिदीबहिनीले सुस्वास्थ्य, दीर्घाय र ऐश्वर्यको कामनासहित टीका लगाइन्छ । आज टीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा छ ।

सर्वसाधारणले त भाइटीका लगाउँछन् नै । राष्ट्रपति, प्र्रधानमन्त्रीदेखि विभिन्न दलका नेताले पारिवारिक जमघट गरेर भाइटीका लगाउँदै छन् । नेताहरुले पारिवारिक भेटघाटसँगै आफ्ना दिदीबहिनीबाट तिहारको टीका ग्रहण गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष नेताहरुको भाइटीका कस्तो हुँदैछ त ?

विद्यादेवी भण्डारी, राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाई डेगेन्द्र पाण्डेलाई टीका लगाउँदै आएकी छिन् । यसपटक पनि डेगेन्द्रलाई नै टीका लगाइदिने शीतल निवासले जानकारी दिएको छ । अर्का भाई अमेरिकामै बसोबास गर्ने हुनाले उनलाई भने टीका लाउन नपाउने भएकी छिन् ।

केपी शर्मा ओली, प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बहिनीको हातबाट टीका ग्रहण गर्नेछन् । झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवन रहेकी बहिनी विष्णुकुमारी ढकालले प्रधानमन्त्री ओलीलाई भाईटीका लगाइदिने कार्यक्रम छ । ओलीका दुवै बहिनीहरु केही दिनअघिनै काठमाडां आइसकेका छन् ।

पुष्पकमल दाहाल , अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
नेकपा अध्यक्ष पुष्पकमल दाहालले यस वर्ष तिहार मनाउने छैनन् । पुत्रशोकमा रहेका कारण यो वर्ष उनको चाडपर्व खल्लो छ । दिवंगत छोरा प्रकाश दाहालको वार्षिकी नसकिएकाले उनले यसवर्ष टीका ग्रहण गर्ने छैनन् । सशस्त्र युद्धपछि दसैं तिहार नमनाएका उनले गत वर्षबाट मनाउन थालेका थिए ।

माधवकुमार नेपाल, नेता, नेकपा
नेकपा वरिष्ठ नेता नेता माधवकुमार नेपालले पनि भव्य रुपमा तिहार मनाउँदैछन् । उनले बहिनी बसुधा पोखरेलको हातबाट भाइटीका लगाउनेछन् ।

झलनाथ खनाल , नेता, नेकपा
नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि दुई दिदी बहिनीको हातबाट टीका ग्रहण गर्नेछन् । भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभ साइतमै भाइटीका लगाउने उनको योजना छ ।

शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि धुमधामका साथ तिहार मनाउँदैछन् । उनले बहिनी सुशीला खड्काको हातबाट भाइटीका ग्रहण गर्नेछन् ।

रामचन्द्र पौडल , नेता, नेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ठूलीआमाकी छोरी चन्दा ओझाबाट भाइटीका लगाउनेछन् ।

विमेलेन्द्र निधी , उपसभापति, नेका
कांग्रेस उपसभापति विमलेन्द्र निधीले तिहार सधैजसो तराइमै मनाइरहेका छन् । भाइटीका ग्रहण गर्न निधी सप्तरीस्थित राजविराजमा दिदी राधादेवी कर्णकहाँ पुगेका छन् ।

विजयकुमार गच्छदार, उपसभापति, नेका
कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले थारु परम्पराअनुसार तिहार मनाउँने गर्छन् । थारु परम्पराअनुसार गच्छदारले भाइटीकाको साइतभन्दा केही समयपछि मात्रै बहिनी (काकाकी छोरी)को हातबाट टीका लगाउने गच्छदारको योजना छ ।

ज्ञानेन्द्र शाह, पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भब्य रुपमा तिहार मनाउँदैछन् । उनले सधैजसो कमलादीमा बहिनी शोभाको हातबाट भाइटीका ग्रहण गर्नेछन् ।

प्रकाशित समय ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु