गृहपृष्ठ पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया भण्डारीलाई
पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया भण्डारीलाई
पाँचथर फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको आरम्भ हुने भएको छ ।
फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरण सुरुवात गर्न लागिएको हो । गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई परिचयपत्र वितरण गर्नेछन् । वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन थालिएको थियो । सोमबार नै पाँचथरमा ५० जनालाई परिचयपत्र वितरण गरिने भएको छ ।
विवरण संकलनको समयमा जस्तै प्राप्त गर्ने व्यक्तिको जैविक विवरण परीक्षण गरेर मात्र वितरण गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तयारी छ ।
सरकारले आगामी तीन वर्षभित्र देशभर परिचयपत्र वितरण गर्ने बताएको छ । यसै आर्थिक वर्षमा प्रदेश एकका झापा र संखुवासभा, प्रदेश दुईको महोत्तरी र सप्तरी, प्रदेश तीनको ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश ५ का कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाममा राष्ट्रिय परिचयपत्र वितरण हुने विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।
प्रकाशित समय १६:५९ बजे

















