गृहपृष्ठ विवाह महोत्सवको तयारी तीव्र
विवाह महोत्सवको तयारी तीव्र
सीता-रामको स्वयम्बर २६ गते, सोही दिन विवाह
धार्मिक नगरी जनकपुरधाममा सदाझैँ यस वर्ष पनि विवाह पञ्चमीको तयारी सुरु भएको छ । विगतदेखि नै जनकपुरधाममा विवाह पञ्चमी विशेष तामझाम र उत्साहका साथ मनाईंदै आएकामा यस वर्ष पनि त्यसलाई निरन्तरता दिने तयारी भएको छ । यस वर्षको विवाह पञ्चमीमा भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीम जन्ती बनेर जनकपुर आउने भएका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री सीता र अयोध्याका राजा दशरथका पुत्र भगवान श्रीरामबीच जनकपुरधाममा हिन्दूपरम्पराअनुसार विवाह भएको पौराणिक मान्यता छ । सोही विवाहको स्मरण गर्दै सीता–रामको विवाह भएको दिन विवाह पञ्चमीको अवसर पारेर जनकपुरधाममा प्रत्येक वर्ष विवाह महोत्सवको आयोजना हुँदै आएको छ ।

राजा जनकले भूमि जोत्ने क्रममा जमिनबाट उत्पन्न भएकी मानिएकी माता सीताको मर्यादा पुरुषात्तम रामसँग पराक्रम विवाह सम्पन्न भएको धार्मिक मान्यता छ । भगवान श्री रामले स्वयम्बरका क्रममा शीव धनु भाँचेपछि सीताले उनलाई स्वयम्बरको माला पहिर्याइदिएको र सीतारामबीच विवाह सम्पन्न भएको धार्मिक मान्यता छ ।
सोही विवाहको स्मरण गर्दै प्रत्येक वर्ष मार्गशुक्ल पञ्चमीको दिन जनकपुरधाममा विवाह महोत्सव मनाइन्छ । विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरबाट माता सीताको प्रतिमा र राम मन्दिरबाट भगवान श्री रामको प्रतिमालाई दुलाह–दुलहीका रुपमा नगर परिक्रमा गराइन्छ । त्यसपछि जनकपुरकै बाह्र बिघा रंगभूमि मैदानमा स्वयम्त्रर गराइन्छ भने जानकी मन्दिरमा विवाह महोत्सव मनाइन्छ ।
विवाहमा राममन्दिरका महन्थले भारतबाट आउने साधुसन्त, महानुभाव श्रद्धालुहरुको संयोजन गर्दै अभिभावकका रुपमा प्रतिनिधित्व गर्ने प्रचलन छ । यस वर्ष पनि त्यसैको निरन्तरता स्वरुप राम मन्दिरका महन्थ राम गिरीले भारतबाट आउने साधुसन्त (भगवान श्रीरामका जन्ती)को नेतृत्व गर्नेछन् । यता जानकी मन्दिरका महन्थले दुलही पक्षको नेतृत्व गर्ने प्रचलन अनुसार जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव पनि जन्तीको स्वागतका लागि तम्तयार भएका छन् । धार्मिक परम्पराको निरन्तरतास्वरुप यस वर्ष जन्ती पक्षको अभिभावक महन्थ राम गिरी र दुलही पक्षको अभिभावक महन्थ राम तपेश्वर दास वैष्णव हुने भएका छन् ।
विवाह पञ्चमी महोत्सवको मूल दिन मार्गशुक्ल पञ्चमी भए पनि जनकपुरमा मिथिला परम्पराअनुसार सप्ताहव्यापी विवाह महोत्सवको अयोजना गरिन्छ । सोही अनुरुप यस वर्ष पनि मंसिर २६ गते विवाह पञ्चमी महोत्सवको मूल दिन भए पनि स्त्पाहव्यापी महोत्सव आयोजना हुने जानकारी दिइएको छ ।
विवाह महोत्सवमा स्वदेशी पर्यटक, श्रद्धालुभक्तजन, भारतका विभिन्न राज्यका साथै विदेशी पर्यटकहरुको समेत ठूलो संख्यामा आगमन हुन थालेको छ । विवाह पञ्चमीमा जनकपुरमा लाखौं देशी विदेशी पर्यटकहरुको आगमन हुने गरेको जनकपुरका होटल व्यवसायी तथा व्यापारीहरु बताउँछन् ।

रामरोशन दास वैष्णवको अध्यक्षतामा मूल समारोह समिति
उता विवाह महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि ‘श्री सीताराम विवाह पञ्चमी मूल समारोह समिति’ गठन गरिएको छ । सोही समिति अन्तर्गत रहने गरी थप २४ वटा उपसमिति गठन गरी विवाह महोत्सवको तयारीलाई तीव्र पारिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
स्थानीयको गुनासो
राजतन्त्र रहुन्जेल विवाह महोत्सवमा राजा स्वयंले हेलिकप्टरबाट पुष्पवृष्टि गरी महोत्सवमा आएका श्रद्धालु भक्तजनको सम्मान गर्ने गरेको स्थानीयको गुनासो छ । तर, गणतन्त्र आएपछि भने सरकारले विवाह पञ्चमीलाई चाहिए जति महत्व नदिएको स्थानीयको गुनासो छ ।
उता प्रदेश सरकारदले भने विवाह महोत्सवलाई महत्व र चासो दुवै दिएको छ । यस वर्ष विवाह महोत्सवका लागि प्रदेश नं. २ को सरकारले ५० लाख खर्च सहयोग गर्र्ने भएको छ । यसका साथै विवाह पञ्चमीलाई सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न सामाजिक संघसंस्थाहरुले आफ्नो तयारीलाई तीव्र पारेका छन् ।
यस वर्ष विशेष धनुष निर्माण हुने
विवाह महोत्वव मूल समारोह समितिका अध्यक्ष दासले यस वर्ष विवाह पञ्चमीको अबसरमा विशेष प्रकारको धनुष निर्माण हुन लागेको न्युज कारोबारलाई बताए । यसका साथै समितिले विवाह महोत्सवको सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको उनले बताए ।
स्वयम्बर २६ गते, सोही दिन विवाह
सार्वजानिक कार्यक्रमअनुसार मंसिर २१ गते जनकपुर दर्शन कार्यक्रम, मंसिर २२ गते फुलवारी लिला, २३ गते धनुषयज्ञ, २४ गते तिलकोत्सवको कार्यक्रम सम्पन्न हुनेछ । तिलकोत्सव मनाउन जानकी मन्दिरबाट राममन्दिर जाने कार्यक्रम तय भएको अध्यक्ष दास वैष्णवले बताए ।
त्यसै गरी २५ गते मटकोर कार्यक्रम गर्न जानकी मन्दिरबाट गंगासागर जाने कार्यक्रम छ । मंसिर २६ विवाह महोत्सवको विशेष दिन र यो दिन विशेष कार्यक्रम समेत रहेको छ । जनकपुरधामको बाह्र विघा रंगभूमि मैदानमा यस दिन माता सीता र भगवान श्री रामको स्वयम्बर सम्पन्न हुने मूल समारोह समितिका संयोजक दासले न्युज कारोबारलाई बताए । त्यसपछि सोही दिन माता सीता र भगवान रामको प्रतिमालाई दुलाह–दुलही बनाएर नगर परिक्रमा गराइनेछ । २६ गते साँझ ६ बजेदेखि जानकी मन्दिरको प्राङ्गणमा विवाह कार्यक्रम हुने कार्यक्रम रहेको उनले बताए । त्यस्तै मंसिर २७ गते श्रद्धालु, भक्तजन तथा जन्तीहरुलाई विदाई गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले न्युज कारोबारलाई बताए ।
यो पनि पढ्नुहोस् ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने
प्रकाशित समय १६:०६ बजे
















