गृहपृष्ठ कोरियामा एक नेपालीको मृत्यु
कोरियामा एक नेपालीको मृत्यु
दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ ।
उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मंगलबार राति खाना खाएर सुतेका थिए । कार्की पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए ।
मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपछि मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिए ।
गत महीनामात्र पाँचथर फिदिम नगरपालिकाका राजेश तुम्बापोको काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।
डिप्रेसनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा मृत्यु हुने नेपालीको संख्या डरलाग्दो रुपमा बढिरहेको छ । कोरियामा सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ । रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत हाल कोरियामा करिब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन् ।(रासस)
प्रकाशित समय ०८:०७ बजे

















