गृहपृष्ठ ‘जलवायु परिवर्तनसम्बन्धी मुद्दा नेपालको प्राथमिकतामा’

‘जलवायु परिवर्तनसम्बन्धी मुद्दा नेपालको प्राथमिकतामा’

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन – कोप २४० मा जलवायु परिवर्तनका असर बारेका विषयलाई प्राथमिकताका साथ उठाइने बताएका छन् ।

संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) को प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको भेटमा उनले जलवायु परिवर्तनमा बढी योगदान रहेका राष्ट्रहरु, नेपालजस्ता समस्या सिर्जना गर्नमा कम भूमिका भएका वा भूमिकै नभएका मुलुकको हितमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

मन्त्री बस्नेतले जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा हिउँको तह पातलिँदै गएको, पहाडमा पहिरो र भू–क्षयको समस्या विकराल बनेको तथा तराई क्षेत्र बाढीको चपेटामा परेको बताए ।

नेपाल सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विभिन्न योजना बनाएर कार्यान्यवनमा लगे पनि उक्त समस्या विश्वव्यापी भएकाले घरेलु प्रयास मात्रै पर्याप्त नहुने मन्त्री बस्नेतको भनाइ थियो ।

नेपालजस्तै जलवायु परिवर्तनमा न्यून भूमिका भएका तर त्यसबाट अतिप्रभावित तेस्रो विश्वका मुलुकको हितमा नेपालले विषय उठाउने मन्त्री बस्नेतले बताए । कोप २४ मा यो वर्ष नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा मन्त्री बस्नेतसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुँदैछ । (रासस)

प्रकाशित समय २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु