गृहपृष्ठ सभामुख भन्छन्- एनजिओ विकासका परिपूरक

सभामुख भन्छन्- एनजिओ विकासका परिपूरक

Krishna Bahadur Mahara1 फाइल तस्बिर

सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पुर्याएको बताएका छन् ।

काठमाडौंमा शुक्रबारदेखि शुरु गैरसरकारी संस्था महासङ्घको नवौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै उनले नागरिक समाज तथा नागरिक सङ्गठनले शान्ति, मानव अधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकका रुपमा आफ्नो भूमिका खेलिरहेको उल्लेख गरे ।

नागरिक सङ्गठनले राज्य र जनताबीच पुलको भूमिका खेल्नसक्ने बताउँदै उनले भने, ‘सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा सङ्कटको घडीमा स्थानीय समुदायलाई राहत आपूर्ति गर्ने काममा नागरिक सङ्गठन एवं गैससले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु ।’

उनले स्थानीय स्रोत साधन, सीप र श्रमको समूचित परिचालनमा गैरसरकारी संस्थाले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुनेमा जोड दिए । गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण हुँदाहुँदै ती संस्थाले गर्ने कामको आर्थिक पारदर्शीता र दिगोपनामाथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको उनले बताए ।

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य २०३० लाई प्रभावकारीरुपमा कार्यान्वयन गरी नेपालको मुहार फेर्न सरकार, संसद्, राजनीतिक दल, नागरिक सङ्गठन, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सङ्घसंस्था र सिङ्गो सञ्चार जगत्ले साझा अभियान बनाई लाग्न जरुरी रहेको उनले औंल्याए । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

नेपाली सामाजिक सङ्घसंस्थाको छाता सङ्गठनका रुपमा महासङ्घले तीन दशकदेखि निरन्तर काम गर्दै आइरहेको छ ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु