गृहपृष्ठ धनगढीमा लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु

धनगढीमा लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु

mahila-himsa-newskarobar सांकेतिक तस्बिर

‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराकासाथ मंगलबार औपचारिक रुपमा धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान थालिएको छ ।

अभियानको क्रममा ‘लैङ्गिक हिंसा अन्त्य गर्न सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयमा मंगलबारै आयोजित अन्तर्क्रियामा सुदूरपश्चिम प्रदेशका स्थानीय तह, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रदेशसभा सदस्य र सांसद लगायत सहभागी छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अभियानको शुभारम्भ गर्दै समाजलाई हिंसामुक्त बनाउन र सबै खाले विकृतिको अन्त्य गर्न सरकारले अभियान थालेको स्पष्ट पारिन् । सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा सरकार लागि परेको भन्दै मन्त्री थापाले भनिन्, ‘समाजमा सदियौँ देखिको व्याप्त विकृति विसङ्गति, सामन्ती सोच संस्कारको अन्त्य गर्नमा सबैले सघाउनु पर्छ ।’

निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले सरकारलाई चिन्तित बनाएको उल्लेख गर्दै उनले भनिन्, ‘कुनै पनि हालतमा निर्मला पन्तका हत्यारा छुट्न पाउँदैनन् ।’  सांसद निरुदेवी पाल, प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापा, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रदेशसभा सदस्य तारालामा तामाङ, मन्त्रालयका सचिव बुद्धिबहादुर खड्कालगायतले पनि लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा बोलेका थिए ।

साविकमा जिल्लामा रहेका महिला बालबालिका कार्यालयले लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम गर्ने गरेकोमा यस वर्ष सरकारको निर्णयअनुसार छुट्टै देशव्यापी रुपमा यो अभियान चलाइएको मन्त्रालयका उपसचिव मिठू थापाले बताइन् ।

रासस

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु