गृहपृष्ठ दूधमा पानी मिसाए १० हजार जरिवाना
दूधमा पानी मिसाए १० हजार जरिवाना
अब दूधमा पानी मिसाएर बिक्री–वितरण गरे १० हजार रूपैयाँ जरिवाना हुने भएको छ । सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न जारी गरेको निर्देशिकाअनुसार दूधमा पानी मिसाइए १० हजार जरिवाना हुने भएको हो ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जारी गरेको ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ मुलुकभरका दुग्ध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री–वितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ ।
खाद्य ऐनविपरीत काम गर्ने व्यक्तिलाई कसुरअनुसार पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । नियम उल्लघंन गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
निर्देशिकाले दुग्ध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम गर्न सघाउ पुग्ने मन्त्रालयको विश्वास छ । निर्देशिकाअनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दूध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्नेछ । दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुनुअघि सम्बन्धित व्यक्तिले साबुन पानीले राम्ररी हात हुनुपर्ने, हातमा घाउचोट तथा खटिरा नभएको तथा संक्रामक रोग नलागेको हुनुपर्ने, गोठ सफा सुग्गर राख्नुपर्ने, दुध दुहुने भाँडो सजिलै सफा गर्न सकिने र ठूलो मुख भएको र स्टेनलेस स्टिल वा आल्मयुनियमबाट बनेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार दूध दुहेपछि संकलन केन्द्र वा चिस्यान केन्द्र अथवा प्रशोधन कारखानामा बढीमा दुई घण्टाभित्र पुर्याइसक्नुपर्ने तथा बिहानको दूध बिहानै र बेलुकाको दुध बेलुकै संकलन केन्द्रमा पुर्याउनुपर्नेछ ।
त्यस्तै, दूध उत्पादक किसानले पशुलाई खुवाउने दाना स्वच्छ, गुणस्तरीय र पोषणयुक्त हुनुपर्ने उल्लेख छ । डेरी उद्योगमा दूध प्रशोधन गर्न ठाउँमा आगन्तुककलाई प्रवेश निषेध गर्न भनिएको छ ।
प्रशोधन कक्षमा कामगर्दा कामदारले सफा टोपी, माक्स, एप्रोन, पञ्जा, जुत्ता लगाउनुपर्ने, दूध प्रशोधन गर्दा मेसिनरी औजारको प्रयोग गर्नुपर्ने, दूध प्याकिङ गर्दा रवरले प्याकिङ गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ । निर्देशिका चैतदेखि लागू हुनेछ ।
प्रकाशित समय १३:२१ बजे

















