गृहपृष्ठ हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई
हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई
चितवनको सौराहामा जारी १५ औँ हात्ती महोत्सवमा शनिबार सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीले जितेको छ ।
प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले उपाधि हात पारेको हो । प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फष्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेण्ड रनरअप १९ वर्षकी अलिशाकली भएको छ ।
हात्तीको सरसफाइ, शृंगार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्यांकन गरी उत्कृष्ट घोषित गरिएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए ।
यस्तै, हात्ती फास्टवाकबाट छ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा सहभागिता १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा प्रवेश गरेको रेग्मीले बताए ।
हात्ती पोलोअन्तर्गत शनिबार सम्पन्न खेल जित्दै होटल सेभेन स्टार फाइनलमा प्रवेश गरेको छ । एनआरएनए हङकङलााई १–० गोल अन्तरले पराजित गर्दै सेभेर स्टार फाइनलमा पुगेको हो । निर्धारित समयसम्म ३–३ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटमा सेभेनस्टार एक शून्यले विजयी भएको हो । हात्तीका छावाबीचको फुटबल खेलमा सिजी फुड्स विजयी भएको छ । सिजीले कोकाकोलालाई पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।
‘समाज, संरक्षण र समृद्धि’ नारासहित यही पुस ११ गतेदेखि सुरु भएको हात्ती महोत्सव आइतबार सकिँदैछ ।(रासस)
प्रकाशित समय ०७:१७ बजे

















