गृहपृष्ठ बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

parbat-newskarobar

जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् । धनबहादुरको २०७४ मङ्सिर १४ गते मृत्यु भएको हो भने उनका दुई श्रीमती सावित्री दमै चार वर्षअघि र कान्छी श्रीमती देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी छाडेर गए । देवीतर्फका छोरा विवेक दमै र सावित्रीतर्फ जन्मिएका विशाल र विश्वास अहिले सहाराविहीन बनेका छन् । उनीहरू वृद्ध हजुरबुबा र हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन् ।

जग्गा जमिनको नाममा सानो झुप्रोबाहेक केही नभएका उनीहरूको आम्दानीको स्रोत नहुँदा बिहान बेलुकाको छाक टार्न र एकसरो लुगा लगाउन समेत धौधौ परेको हजुरआमा गौमती दमैले बताइन् । सत्तरी वर्षीय हजुबुबा केदार दमै गाउँमै मजदुरी गर्छन् । ‘उहाँले काम पाउँदाको दिन र कमाइ भएको दिन तीन नातिले पेट भरिञ्जेल खान पाउँछन् नत्र खानसमेत पाउने अवस्था छैन,’ हजुरआमा गौमतीले रुँदै भनिन्, ‘मेरो परिवारमा बज्रपात नै पर्यो ।’

पन्ध्र वर्षीय विशाल कक्षा ९, १४ वर्षीय विवेक कक्षा ७ र १२ वर्षीय विश्वास कक्षा १ मा अध्ययन गर्दै आएका छन् । स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनीहरूलाई नियमित पठनपाठनमा समेत समस्या भएको छ । अहिलेसम्म कुनै निकायबाट पनि सहयोग पाइएको छैन, जाडो महिना छ, गतिलो कपडासमेत लगाउन नपाउँदा बालक झनै समस्यामा परेका छन् ।

अहिलेको निकै जाडोमा गतिलो कपडा लगाउने र ओढ्ने ओच्छ्याउनेसमेत नहुँदा निकै समस्यामा परेको गौमतीले बताइन् । ‘सहयोगको नाममा नगरपालिकाले १० हजार सहयोग गरेको थियो । सोही पैसाले छोराको मृत्यु हुँदा लागेको ऋण तिरियो । अहिले परिवारमा निकै ठूलो आर्थिक समस्या परेको छ,’  उनले  दुखेसो गरिन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल परिवारको राहतका लागि पहल गर्दै आएका छन् । वैशाखमा सरुवा भएर आएका ढकालले गत जेठ महिनामै बालकहरूको हेरचाह, पालनपोषण र शिक्षादीक्षाका लागि पहल गरेपछि अहिले नियमित मासिक ६ हजार परिवारले पाउने गरेको छ । स्थानीय वडाको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि अहिले उक्त संस्थाले तीन बालकका लागि मासिक दुई/दुई हजारका दरले सहयोग गर्दै आएको हो ।

उक्त परिवारले गत असारदेखि मासिक ६ हजारका दरले बुझ्दै आएको छ । रकम आउन थालेपछि भने नातिलाई नियमित दाल र भात खुवाउन पुगेको गौमतीले बताइन् । गतिलो लुगा लगाउन, ओढ्ने, ओच्छ्याउने कपडा किन्न नपुगे पनि बिहान–बेलुकाको छाक टार्न र कलम कापी किन्नका लागि निर्वाह भएको गौमतीले बताइन् । ‘बाबालिकालाई पढाउन कुनै संस्था वा निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर राम्रो मान्छे बन्ने थिए कि भन्ने आशा गरेका छौँ,’ जिल्ला प्रशासन कार्यालयमा आएकी गौमतीले भनिन्, ‘यही सहयोग पनि सिडियो सरले मिलाइदिनुभयो, हामीलाई भगवान आएझैँ भएको छ ।’

प्रमुख जिल्ला अधिकारी ढकालले बालकहरूको भविष्य राम्रो बनाउन आफूले सहयोगी निकाय खोजी गरेको बताए । उनले उनीहरूलाई पठनपाठन गराउने र परिवारका लागि नियमित सहयोग गर्ने सहयोगी निकायको खोजी आफूले निरन्तर रूपमा गरिरहेको जनाए ।

बालकहरूले आफूलाई जन्म दिने आमाबाबु नहुँदा निकै असहज भएको गुनासो गरेका छन् । ‘वृद्ध भएका हजुरबुबा हजुरआमा हुनुहुन्छ,’ विवेकले भने, ‘उहाँहरू पनि बिरामी पर्दाको दिन भोकै सुत्नुपर्ने अवस्था छ ।’ कुनै सहयोगी निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर शिक्षक र डाक्टर बन्ने आफूहरूको इच्छा रहेको बालकहरूले बताएका छन् । (लक्ष्मीप्रसाद सापकोटा/रासस)

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु