गृहपृष्ठ बम्जनको आश्रममा ‘हत्या भएको आशंका’
बम्जनको आश्रममा ‘हत्या भएको आशंका’
आश्रमभन्दा तीन सय मिटर पर नौ प्याकेट नुनका खोल गाडिएको अवस्थामा भेटियो
रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा नुनका खोल भेटेपछि हत्याको आशंका गरेको हो ।
आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडिएको अवस्थामा नुनका खोल भेटिएको प्रहरीले जनाएको छ । तर, मानव कंकाल वा हड्डी नभेटिएको अनुसन्धानमा खटिएका सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । ‘आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटिएको छ तर त्यसमा हड्डी भने भेटिएको छैन,’ अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले भने ।
सञ्चलालका छोरा महेन्द्रले ‘बाबु खोजीपाऊँ’ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर खोजतलास सुरु गरेको हो । शुक्रबार प्रहरी टोलीले इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको टोड्के वनस्थित बम्जनको ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा छापा मारेको थियो । बम्जन भने सिन्धुलीको आश्रममा छन् ।
प्रकाशित समय २०:४८ बजे

















