गृहपृष्ठ यस्तो छ, बम्जनको रहस्यमयी आश्रम, यस्ता भेटिए शंकास्पद गतिविधि

यस्तो छ, बम्जनको रहस्यमयी आश्रम, यस्ता भेटिए शंकास्पद गतिविधि

bomjan-newskarobar (07) शव गाडेको आशंकामा उत्खनन् गरिएको स्थल, जहाँ ९ प्याकेट नुनको पोकाको खोल भेटियो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६, बाँडेगाउँको टोड्के जंगलमा रहेको रामबहादुर बम्जनको आश्रम पुग्न सदरमुकाम चौताराबाट चार घण्टा लाग्छ । काठमाडौंबाट साँखु जहरसिंह पौवा हुँदै जाँदा करिब ६ घण्टाको सवारी यात्रामा त्यहाँ पुग्न सकिन्छ ।

हामी बम्जन आश्रममा स्थलगत रिपोर्टिङका लागि काठमाडौंबाट जाँदा साँखु, जहरसिंह पौवा, भीमटार, सिपापोखरी हुँदै बाँडेगाउँ गयौं । त्यहाँसम्म पुग्न पाँच घण्टा लाग्यो । बाँडेगाउँसम्म मोटरजाने बाटो छ । त्यसपछि करिब ३ किलोमिटर ग्रामीण सडक सीधा पैदल हिँड्नुपर्छ ।

गाडी जाने सडक भए पनि सजिलो बाटो छैन । आधा घण्टाको पैदल यात्रापछि बाँडेगाउँको हबेली थलडाँडा भन्ने ठाउँ पुगियो । बम्जन आश्रममा पुग्न त्यहाँबाट तल टोड्के जंगलतिर झर्नुपर्ने थियो । वनको बीचमा सामान्य गोरेटो र ठाडो आरोलो झर्न सजिलो थिएन । लहरावेहरा पन्छाउँदै करिब आधा घण्टा बढी सीधा आरोलो झरेपछि बम्जनको आश्रममा पुग्यौं ।

bomjan-newslkarobar BAMJANA JAANE BATO
बम्जन आश्रम जाने बाटो ।

जंगलको बीचमा वरिपरि काँडेतारले घेरिएको थियो, बम्जनको आश्रम । असामान्य गतिविधि भएको भनिएको सो आश्रम सामान्य जस्तो देखिन्थ्यो । आश्रममा साना–ठूला आठवटा जस्ताको टहरो बनाइएको रहेछ । शिष्यहरु बस्ने, पूजापाठ गर्ने, खाना बनाउने, खाना खाने अलग–अलग टहरा बनाइएको रहेछ ।

कार्यालय तथा पाहुना आउँदा बस्ने पनि फरक-फरक टहरा छ । अरु टहराभन्दा दुई सय मिटर तर अझ घना जंगलको बीचमा बम्जन बस्ने छुट्टै भुइँतले घर रहेछ ।

bomjan-newskarobar (01)
बम्जनको आश्रम जहाँ आठ वटा ठूला साना टहराहरु छन् ।

८० रोपनी क्षेत्रफलमा फैलिएको बम्जनको आश्रम निक्कै फराकिलो छ । तर, जंगल र डाँडाकाँडा भएकाले धेरै टाढासम्म देख्न सकिँदैनथ्यो । सो जग्गा सहयोगीहरुले निःशुल्क दान दिएको आश्रम सञ्चालक मणि लामाले जानकारी दिए ।

राजाको प्रत्यक्ष शासनकालमा मन्त्री बनेका मणि लामाका अनुसार उक्त जग्गा ‘भक्तहरूले’ आश्रमलाई दान दिएका हुन् । ‘यो सबै जग्गा जमिन दुईजना भक्तहरुले बम्जन गुरुको नाममा चढाउनुभएको हो,’ उनले न्युज कारोबारसँग भने ।

bomjan-newskarobar
आश्रममा खाना पकाउँदै एक आनी ।

आश्रममा किन कोही जान पाँउदैन ?

आश्रममा सार्वसाधारणलाई प्रवेश अनुमति नभएको आसपासमा भेटिएका स्थानीयले बताए । व्यवस्थापन समितिमा भएकाहरु पनि अनुमति लिएरमात्र प्रवेश गर्न पाउँछन् । तर, अरु स्थानीयलाई अनुमति दिइएको छैन ।

आश्रम छेउबाट एक बाटो छ । जहाँबाट तल खोलामा रहेको पानी घट्टमा पुगिन्छ । अचेल गाँउमै, मकै, कोदो पिस्ने मिल स्थापना भएकाले आफूहरु घट्ट जान छाडेको स्थानीय बताउँछन् । घट्ट जानु नपर्ने भएकाले त्यो बाटो प्रयोग गर्न नपर्ने स्थानीय कान्छाराम स्याङ्तान बताउँछन् ।

‘हामी कहिलेकाहीँ मात्र त्यो बाटो प्रयोग गर्छौं, कहिलेकाहीँ दाउरा घाँस गर्न जाँदा त्यहाँ नजिकसमेत पर्न दिँदैनन्, भित्र जाने त कुरै छाडौं,’ उनले न्युज कारोबारसँग भने, ‘आश्रम बनेको ५-६ वर्ष पुग्दा पनि हामीलाई भित्र जान नदिइएकोमा त्यहाँ केही शंकास्पद, असामान्य गतिविधि हुन्छ कि भन्ने हामीलाई आशंका छ ।’

कहाँ छन् बम्जन ?

२०७० सालमा त्यहाँ आश्रम बनाइएको हो । पूर्वमन्त्रीसमेत रहेका ताप्लेजुङका मणि लामा, पञ्चायतकालीन समयमा राजनीति गरेका नुवाकोटाका कमानसिंह लामालगायतले त्यो आश्रम बनाएका थिए ।

उनीहरुले २०७१ सालमा बाराको हलखोरियाबाट बम्जनलाई सिन्धुपाल्चोक बोलाए । २०७२ वैशाखमा भूकम्प जाँदा बम्जन बाँडेगाउँ टोड्के वनकै सोही आश्रममा थिए । भूकम्प गएको केही महिनासम्म बम्जन त्यहीँ बसे । त्यसपछि उनी बारातर्फ नै लागेका त्यहाँका शिष्यहरु बताउँछन् ।

अहिले भने बम्जन सिन्धुलीमा रहेको आश्रममा रहेको बताइएको छ । बाँडेगाउँमा भने बम्जन अरु टहराभन्दा दुई सय मिटर तर छुट्टै भुइँतले घरमा बस्छन् । जहाँ आश्रमकै शिष्यहरुसमेत जान पाउँदैनन् ।

bomjan-newskarobar(03)a
तपश्वी भनिएका रामबहादुर बम्जन ।

शिष्यको काम जुठो खानेदेखि बम्जनको सुरक्षासम्म

बम्जन आश्रममा अहिले १४ जना अनुयायी छन् । सबैजनाको बिहान उठ्नेदेखि सुत्नेसम्मको दैनिकी तालिका बनाइएको छ । उनीहरु त्यही अनुसार दिनचर्या बिताउने गर्छन् ।

बिहान साढे ४ बजे उठेर हातमुख धुने गर्छन् । त्यसपछि एक घण्टा बम्जनको फोटोमा पूजापाठ गर्छन् । बम्जन त्यहाँ भएका बेलामा शिष्यहरुले बम्जनको जुठो खानुपर्ने नियम छ ।

बम्जनले थालमा धेरै खाना राख्ने गर्छन् । सबै खाना एकैपटक मुस्छन् र थोरैमात्र खाएर छाड्छन् । बम्जनले छाडेको बाँकी खाना अरु शिष्यले अरु खानामा मिसाएर खान दिइने आश्रम सञ्चालक मणि लामा बताउँछन् ।

bomjan-newskarobar (04)
शिष्यहरुले बम्जनको फोटो पुज्दै ।

बम्जन आश्रममा अरु टहराभन्दा २ सय मिटरतल अलि घना जंगलको बीचमा बम्जन बस्ने भुइँतले घर छ । तीनवटा कोठा रहेको सो घरमा, उनको भान्छा कोठा, सुत्ने कोठा र उनले प्रवचन दिने सानो हल छ ।

उनी आश्रममा बस्दा त्यहीँ सुत्छन् । बम्जनका लागि एक दुई जना शिष्यहरु उनको कोठाबाहिर कुर्न राखिन्छ । कुनै उच्च पदस्थ व्यक्तिको घरमा बाहिर हतियारसहित सुरक्षाकर्मी बसेजस्तै बम्जन बस्ने घरबाहिर सधैं शिष्यहरु खटाइन्छ ।

आठ-दश वर्ष उमेरमाथिका बालक शिष्यहरु जंगलको बीचमा रहेको सो आश्रममा बम्जनलाई कुरेर बस्छन् । कहिलेकाहीँ जंगलमा बाघ कराइरहन्छ । तर, बम्जन बस्ने घरबाहिर बालक शिष्य एक्लै बस्नुपर्छ ।

के बम्जन भगवान हुन् ?

हराएका व्यक्तिका परिवार आफूलाई पीडित भनेर दाबी गर्ने आनीहरुका सुन्ने हो भने लाग्छ बम्जन भगवानको भेष धारण गरेका आडम्बरी हुन् । उनी एक सामान्य युवा हुन् तर असामान्य यौनपिपासु भएको आरोप गंगामाया नामकी एक आनीले लगाएकी छन् ।

गंगामाया मात्र होइन, बम्जनले आश्रममा रहेका कयौँ आनीको यौन शोषण गरेका छन् । आफूविरुद्ध उठ्ने आवाज दबाउन उनले हिंसाको व्यापक प्रयोग गरेका बेपत्ता भएका सञ्चलाल वाइबाका छोरा महेन्द्रले आरोप लगाएका छन् ।

मेहन्द्रका अनुसार बम्जनको सिन्धुपाल्चोकमात्र नभई कुनै पनि आश्रममा ध्यान र तपस्या केही हुँदैन । बाहिरबाट जाने मानिसलाई देखाउनमात्र उनी त्यसको नाटक गर्छन् । उनमा कुनै आध्यात्मिक ज्ञान वा चेत वा अभ्यास केही पनि छैन । न त उनलाई त्यसमा कुनै चासो नै छ । न उनले तपस्वीका रूपमा ज्ञान नै बाँड्छन् ।

बम्जनका आश्रममा ५ वर्ष बसेर तपस्या गरेका र ज्ञान लिएका भनिएका शिष्यसँग हामीले कुरा गर्दा पनि उनीहरुले प्रचार गरे जस्ता ज्ञान पाएको भेटिएन । शिष्यहरु भन्छन्, ‘हामीलाई असल बन्नु, असल काम गर्नु भन्नुभएको छ, हामी गुरुको बारेको किताब पढ्छौं, बस्छौं, अरु केही गर्दैनौं ।’

bomjan-newskarobar (06)
बम्जन आश्रमका शिष्यहरु ।

उजुरीपछि आश्रममा छापा

सञ्चलाल हराएको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो र सिन्धुपाल्चोक प्रहरीले बम्जनको बाँडेगाउँस्थित आश्रममा शुक्रबार छापा मार्यो । मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने सुराक खोजी गर्यो ।

अनुसन्धानका क्रममा आश्रमभित्र केही शंकास्पद वस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ । शंकास्पद सामग्रीहरु फेलापरेको बताइए पनि अनुसन्धान अझै जारी रहने बताइएको छ ।

सञ्चलालको यही आश्रमभित्र हत्या भएको बेपत्ता भएका भनिएका सञ्चलालका आफन्तको दाबी छ । छिटो शव सडाउन १०-१२ प्याकेट नुन प्रयोग भएको सुराकले बताएपछि प्रहरीले आश्रमको उत्तरतर्फ करिब ४ सय मिटरनजिकै खोजतलास गरेको थियो । प्रहरीले आश्रमबाट केही पर खेतमा खाल्डो खन्दा नौ प्याकेट नुनका खोल बरामद भयो ।

 

मान्छे मारियो तर अरुलाई भागेको भनियो

बम्जनविरुद्ध लागेको मुख्य आरोप हो, आनीविरुद्धको यौनहिंसा र मानव बेपत्ता । आनीहरूमाथि आश्रममा गरिएको दुर्व्यवहार देख्नेहरूको बयानका आधारमा सञ्चलाल वाइबालगायतका अरु बेपत्ता हुनु रहस्यमयी देखिन्छ ।

बम्जनको निर्देशनमा एकजना अनुयायीलाई आश्रमभित्रै कुटेर हत्या गरिएको जना प्रत्यक्षदर्शीले विभिन्न मिडियालाई बताएका छन् । तर, बम्जन आश्रम सञ्चालक मणि लामा, कमानसिंह लामालगायत भने आश्रबाट कोही बेपत्ता नभएको र बेपत्ता नबनाइएको जिकिर गर्छन् ।

कमानसिंह लामा भन्छन्, ‘गुरुको दर्शन गर्न आउने हजारौं हुन्छन्, उहाँहरुको नाम त लेख्ने कुरा आएन । तर, आश्रममा बस्ने सबैको नाम यहाँ दर्ता छ, कोही भागेको पनि छैन, बेपत्ता बनाएको पनि छैनौं ।’

bomjan-newskarobar (08)
बम्जन आश्रमकै शिष्य ।

शिष्यहरुले भने २०७१ सालमा धेरै व्यक्तिले आश्रम छाडेर गएको बताएका छन् । आश्रमबाट बेपत्ता बनाइएकाहरुका बारेमा शिष्यहरुले चासो राख्दा ध्यान गर्न नसकेकाले उनीहरु भागेको भनेर उनीहरुलाई भनिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सञ्चलाल हराएका समयदेखि अरु केहीलाई समेत आश्रमबाट नदेखेको एक शिष्यले बताए । उनले भने, ‘२०७१ सालमा म यहाँ आएको हुँ त्यतिबेला केही मान्छे यहाँबाट भागेका थिए, त्यस बेलादेखि हामीले उहाँहरुलाई देखेको छैन ।’

आश्रममा रहेका केहीको हत्या गरेको तर शिष्यहरुलाई उनीहरु भागेर भनेर ढाँटेको हुनसक्ने धेरैले आशंका गरेका छन् । त्यसैको आधारमा प्रहरीले विभिन्न प्रमाण संकलन गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु