गृहपृष्ठ चीन–अमेरिका व्यापार वार्तापछि विश्व सेयर बजारमा सुधार
चीन–अमेरिका व्यापार वार्तापछि विश्व सेयर बजारमा सुधार
चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको संकेतसँगै विश्वको सेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि युरोपेली तथा एशियाली सेयर बजार बिहीबार निकै मजबुत देखिएका आर्थिक सूचकांकले देखाएका छन् । चीन र अमेरिकाबीच केही दिन पहिले भएको व्यापार वार्ताले क्रमशः विवाद सहज बन्दै गएको सन्देशसँगै विश्व सेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो ।
प्रमुख सूचकांकमा एक प्रतिशत वा त्योभन्दा बढीका दरले लगातार चार दिनसम्म नाफा देखिएको वालस्ट्रिटले शुक्रबार बताएको छ । अमेरिकी स्टक बजार (डाउ) मा डिसेम्बर २४ पछि १३ प्रतिशतको वृद्धि देखिएको छ । बेइजिङले विगत पाँच वर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व सेयर बजारमा समारात्मक सन्देश गएको ब्लुमवर्गले पनि उल्लेख गरेको छ ।
अनलाइन बजारका विश्वहस्ती व्यापारीहरूको संगठन (आइजी) का वरिष्ठ बजार विश्लेषक जोसुआ माहोनीले भने, ‘विश्व सेयर बजारमा यस साता आशा गरिएजस्तै व्यापक सुधारका संकेत देखिएका छन् । यो चीन–अमेरिकाबीचको व्यापार विवादमा महत्वपूर्ण ‘ब्रेकथ्रु’ हुने सम्भावनाले आएको सुधार हो ।’ त्यस्तै, व्यापार सम्झौताका सम्बन्धमा देखिएको आशा नै बजार सुधारका लागि निर्धारक आधार भएको एलबीबीडब्लूका कार्ल हेलिङले बताए ।
हेलिङले भने, ‘त्यहाँ एक प्रकारको कालो धुवाँका संकेत देखिएका थिए । जहाँ धुवाँ हुन्छ त्यहाँ आगो पनि हुनु स्वाभाविक हो । तर, पछिल्ला दिनमा बजारमा सकारात्मक सन्देश फैलिएको छ र यसले सेयर बजारलाई थप ओरालो लाग्नबाट बचाएको छ । तत्काल केही सुधारका सङ्केत देसखिएका छन् । यो सबैका लागि खुसीको कुरा हो ।’
ट्रम्पले अर्थतन्त्र कमजोर बन्दै गएको र अमेरिका बन्दको अवस्थालाई महसुस गरेजस्तो देखिएको छ । उनले यसमा आफ्नो जीतलाई पुष्टि गर्न केही गर्ने देखिएको छ । तर, केही विश्लेषकहरूले व्यापार विवाद साम्य भइहाल्नेमा संशय व्यक्त गरेका छन् । उनीहरूले अझै धेरै बिषयमा सहमतिदेखि धेरै टाढा रहेको बताएका छन् । उनीहरूले बौद्धिक सम्पत्ति चोरीसम्बन्धी अमेरिकाको दावीलाई चीनले सम्बोधन गरिहाल्ने नदेखिएको बताएका छन् । किनकि, अमेरिकाले लगाएको उक्त आरोपलाई खुलारूपमा चीनले खण्डन गर्दै आएको छ ।
मुद्रा बजारसम्बन्धमा बेलायती मुद्रा कमजोर देखिएको छ । बेलायतले बिनासम्झौता युरोपेली संघबाट बाहिरिने हल्लाले बेलायती मुद्रा केही कमजोर देखिएको हो । बेलायती प्रधानमन्त्री टरिजा मे ले गरेको बृहत् ब्रेक्जिट योजनालाई सांसदहरूले विफल पारेका छन् तर प्रधानमन्त्रीले सोमबारसम्म अन्तरपार्टी छलफलका लागि नै दोस्रो योजना ल्याउने बताइएको छ । उक्त योजनाले काम नगरेमा मार्चमा हुने भनिएको बेलायतको बहिर्गमन पछि धकेलिनेछ । यसले प्रधानमन्त्रीलाई अर्को सम्झौता गर्नका लागि समय दिनेछ वा अर्को जनमत संग्रहको बाटो तय गर्नेछ ।
चीन–अमेरिकाबीचको व्यापार वार्ताको सकारात्मक सन्देश र तेल निर्यात राष्ट्रहरूले गरेको तेलको उत्पादनमा कटौतीले कच्चा इन्धनको मूल्यमा वृद्धि देखिएको छ । अमेरिकी कम्पनीहरूको सेयरमा चीनसँगको कारोबारसँगै नाफातर्फ देखिएका छन् । डाउका सदस्यहरू वोइङ, क्याटरपिलर र नाइकमा सुधारको संकेत देखिएको छ ।
तर, अमेरिकी कम्पनी तेस्ला मोटर्सको कारोबारमा १३ प्रतिशतले गिरावट देखिएको छ । विद्युतीय कार निर्माण कम्पनीहरूले प्रविधिमैत्री अत्याधुनिक विद्युतीय कार बनाउने घोषणाले तेस्ला मोटर्सको आम्दानीमा ह्वात्तै गिरावट आएका हो । उक्त कम्पनीले विद्युतीय कारसँग सामना गर्नसक्ने समस्या र यसबाट हुने कमजोर आम्दानीलाई सन्तुलनमा राख्न कामदार कटौतीको घोषणा गरेको छ ।
नेटफिक्सको नाफामा विश्लेषकहरूको अनुमान विपरित चार प्रतिशतको गिरावट देखिएको छ । विश्लेषकहरूले ग्राहक संख्याको वृद्धिमा सुस्तता आउँदा नेटफिक्सको आगामी बजारप्रति विश्लेषकहरूले चिन्ता प्रकट गरेका छन् । (रासस)
प्रकाशित समय ०८:३८ बजे

















